बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पहिलोपटक ऊर्जा व्यापारमा सेना, निर्माण गर्दै २३.५ मेगावाटका तीन सौर्य आयोजना

सैनिक कल्याणकारी कोषमार्फत सैनामैनामा सोलार परियोजना अगाडि बढाउँदै

बिहीबार , साउन १५ २०८२
पहिलोपटक ऊर्जा व्यापारमा सेना, निर्माण गर्दै २३.५ मेगावाटका तीन सौर्य आयोजना

नेपाली सेनाले सौर्य ऊर्जा उत्पादनमा समेत हात हाल्ने भएको छ। सेनाले आफ्नो मातहतको सैनिक कल्याणकारी कोषमार्फत २३.५ मेगावाट क्षमताका तीन सोलार आयोजना निर्माण गर्ने तयारी गरेको छ।

काठमाडौं- नेपाली सेनाले सौर्य ऊर्जा उत्पादनमा समेत हात हाल्ने भएको छ। सेनाले आफ्नो मातहतको सैनिक कल्याणकारी कोषमार्फत २३.५ मेगावाट क्षमताका तीन सोलार आयोजना निर्माण गर्ने तयारी गरेको छ।

नेपाली सेनाले यसअघि पनि विभिन्न पूर्वाधार निर्माण र सुरक्षासम्बन्धी परियोजनामा संलग्न हुँदै आएको छ। ऊर्जा क्षेत्रमै सेनाको प्रवेश भने यो पहिलोपटक हो। सौर्य आयोजनाको लगानी, निर्माण मोडल र सञ्चालन संरचनाबारे विस्तृत योजना अझै सार्वजनिक गरिएको छैन।

सैनिक कल्याणकारी सौर्य विद्युत आयोजना ब्लकको नाम दिइएको उक्त परियोजना स्याङ्जाको सैनामैना क्षेत्रमा बन्नेछ। आयोजनामार्फत क्रमशः ५ मेगावाट, १० मेगावाट र ८.५ मेगावाट क्षमताका सौर्य प्लान्ट निर्माण गरिनेछ। परियोजनाका लागि विद्युत विकास विभागबाट सर्भे (सर्वेक्षण) अनुमतिपत्र (सर्भे लाइसेन्स) प्राप्त भइसकेको छ।

सेनाले परियोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्न सकिने गरी खरिद-बिक्री सम्झौता (पावर पर्चेज एग्रिमेन्ट- पीपीए) गर्न पहल थालेको छ। हाल सेनाले प्राधिकरणसँग यस विषयमा छलफल गरिरहेको छ। प्राधिकरणसँग सम्झौता भएपछि आयोजना निर्माणका काम तीव्ररूपमा अघि बढाइने सैनिक कल्याणकारी कोष स्रोतले जनाएको छ।

सैनिक कल्याणकारी कोषमार्फत सञ्चालित अन्य परियोजनाहरू जस्तै होटल, कृषि फार्म, जलविद्युतलगायतमा जस्तै अब सौर्य ऊर्जामा समेत लगानी विस्तार गर्ने रणनीतिमा सेना देखिएको छ। 


प्रकाशित : बिहीबार , साउन १५ २०८२०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend