बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
बन्दैछ देश

सिँचाइ पूर्वाधारमा आधुनिकीकरण ल्याएको रानी जमरा कुलरिया

बुधबार, साउन १४ २०८२

सिँचाइ प्रणालीको १४ हजार ३ सय हेक्टर, नयाँ शाखा नहर विस्तारको ६ हजार हेक्टर र सिंचित क्षेत्र विस्तारको १८ हजार हेक्टर गरि ३८ हजार ३ सय हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य।

काठमाडौं- आठ वर्षको प्रतीक्षापछि कैलालीको जानकी गाउँपालिका-९ कटाँसेमा निर्माण सम्पन्न रानी जमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनमा आएको छ। बहुउपयोगी संरचनाको रूपमा विकास गरिएको यो आयोजनाले हालसम्मकै ठूलो १४ हजार ३ सय हेक्टर कृषि जमिनमा सिँचाइ सुविधा पुर्‍याएको छ।

राष्ट्रिय गौरवका योजनामा समावेश रानी जमरा कुलरीया सिँचाइ प्रणाली कृषकबाट निर्माण गरी व्यवस्थापनसमेत गरिएको सबैभन्दा ठूलो सिँचाइ प्रणाली हो। उक्त प्रणालीको पानीको स्रोत कर्णाली नदी (पश्चिमी भंगालो झरही नाला) रहेको छ। उक्त प्रणालीको निर्माण करिब १ सय २० वर्षभन्दा अगाडि विभिन्न चरणमा स्थानीय समुदायको अथक प्रयासबाट भएको थियो। जसलाई अहिले आधुनिकीकरण गरिएको छ। 

आव २०६६/६७ सालमा आधुनिकीकरण गर्न सुरु गरिएको उक्त प्रणालीको मूल उद्देश्य रानी जमरा कुलरिया सिँचाइ प्रणालीको १४ हजार ३ सय हेक्टर, नयाँ शाखा नहर विस्तार (लम्की विस्तार) को ६ हजार हेक्टर र सिंचित क्षेत्र विस्तारअन्तर्गत पथरैयादेखि कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर गरि जम्मा ३८ हजार ३ सय हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउनु रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले  मंगलबार एक समारोहबीच आयोजना समुद्घाटन गरेसँगै परियोजना पूर्णरूपमा सञ्चालनमा आएको हो। करीब २७ अर्ब ७० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आयोजनाले सिँचाइसँगै ४.७१ मेगावाट क्षमताको जलविद्युत् उत्पादन पनि सुरु गरिसकेको छ।

rani jamara kulariya (2).jpg

आयोजनाले निर्माण गरेको करीब ३४ किलोमिटर लामो मूल नहर अब सुदूरपश्चिमका किसानका खेतमा पानी पुर्‍याउने छ। इन्टेकदेखि नयाँ शाखाको मुखसम्म ८.८७५ किलोमिटर रहेको छ। त्यहाँबाट रानी नहर प्रणालीको मुहानसम्म १०.६० किमी फिडर नहर रहेको छ भने पश्चिमतर्फ लम्की विस्तारअन्तर्गत पथरैया नदीसम्म १४.६० किमी नहर निर्माण गरिएको छ।

सिँचाइ आयोजनाको दोस्रो चरणका कार्य सम्पन्न भइ तेस्रो चरणका कार्यक्रम सुरु भएको छ। आयोजनाले टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सिँचाइ सुविधा दिइरहेकोमा अब आयोजनाबाट भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार हुने छ। रानी जमरा कुलरिया सिँचाइ आयोजना नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धिका रुपमा हेरिएको छ। 

rani jamara kulariya (3).jpg
rani jamara kulariya (4).jpg
rani jamara kulariya (5).jpg
rani jamara kulariya (6).jpg
rani jamara kulariya (7).jpg
rani jamara kulariya (8).jpg
rani jamara kulariya (9).jpg
rani jamara kulariya (10).jpg
 


प्रकाशित : बुधबार, साउन १४ २०८२१३:३६
  • सम्बन्धित विषय:

  • # बन्दैछ देश


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend