बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईएसपीको लाइसेन्स लिएर सहरी क्षेत्रमा टेलिकम कम्पनीको डेटा व्यापार खोस्न थालेपछि रोक्न प्राधिकरणको निर्देशन

आइतबार, साउन ११ २०८२
आईएसपीको लाइसेन्स लिएर सहरी क्षेत्रमा टेलिकम कम्पनीको डेटा व्यापार खोस्न थालेपछि रोक्न प्राधिकरणको निर्देशन

नेपाल टेलिकमलगायत एनसेलले पनि नियामकलाई कि लाइसेन्स दस्तुरदेखि सबै कुरामा समान व्यवस्था गर्नुपर्ने होइन भने बिजेनसको क्षेत्र स्पष्ट हुनुपर्ने माग गर्दै आएका थिए।

काठमाडौं- टेलिकम कम्पनीहरूको तुलनामा न्यून शुल्क र रोयल्टी तिरेर लाइसेन्स लिएका इन्टरनेट सेवाप्रदायकहरूले सहरी क्षेत्रमा टेलिकम कम्पनीको डेटा बिजनेस खोस्न थालेपछि नियामक दूरसञ्चार प्राधिकरणले सार्वजनिक नोट जारी गरेको छ। 

दूरसञ्चार प्राधिकरणले कानून अनुसारको लाइसेन्सको प्रकार र त्यस्ता कम्पनीले दिन पाउने सेवाको सीमा सम्झाउँदै इन्टरनेट सेवाप्रदायक कम्पनीहरूलाई निर्देशन जारी गरेको हो। 

पछिल्लो समय इन्टरनेट सेवाप्रदायक कम्पनी त्यसमा पनि वर्ल्डलिंकले सहरी क्षेत्रमा जहाँ पनि वाइफाइबाट निरन्तर नियमित वायरलेस सेवा दिन थालेको थियो। यही कारणले टेलिकम कम्पनीहरूको डेटा बिजनेस बढ्न सकिरहेको थिएन। जहाँ धेरै बिजनेस छ त्यही तारबाट सेवा दिने अनुमति पाउका कम्पनीले वायरलेस सेवा दिएर उपभोक्ता तानेका थिए।

तर लाइसेन्स शुल्क भने यी कम्पनीहरूबीचमा आकाश जमिनको फरक छ। टेलिकम कम्पनीले वर्षकै अर्बौं रुपैयाँ तिर्नुपर्छ भने इन्टरनेट सेवाप्रदायकले केही लाखमात्र तिर्छन्। सरकारले लिने शुल्क र करमा अन्तर भएअनुसार नै बिजनेस स्पेस उपलब्ध हुने भन्दै प्राधिकरणले यसअघि नै यस्तो निर्देशन दिँदै आएको थियो। 

प्राधिकरणको अनुमतिबिनै वर्ल्डलिंकले भने पछिल्लो समय सहरी क्षेत्रमा वाईफाई सञ्जाल व्यापक विस्तार गरेको थियो। प्रत्येक पोलमा राउटर राखेर यस्तो सेवालाई विस्तार गरेको थियो। वाइफाइ एक्सप्रेस नामबाट उसले दिएको यो सेवाले कुनै पनि उपभोक्ताले सहरका अधिकांश ठाउँमा मोबाइल डेटा बिनै इन्टरनेट कनेक्टिभिटीमा रहनसक्ने अवस्था रहेको छ। 

यही कुराको नेपाल टेलिकमलगायत एनसेलले पनि चासो दिएका थिए। उनीहरूले नियामकलाई कि लाइसेन्स दस्तुरदेखि सबै कुरामा समान व्यवस्था गर्नुपर्ने होइन भने बिजेनसको क्षेत्र स्पष्ट हुनुपर्ने माग गर्दै आएका थिए। 

वर्ल्डलिंकले यस्तो सेवा दिन थालेपछि अरु सेवाप्रदायकले पनि अनुमति माग्दै प्राधिकरणमा आवेदन दिएपनि उनीहरूले पाएका थिएनन्। 

वाइफाईको माध्यमबाट ताररहित निरन्तर अविच्छिन सेवा दिने टेलिकम कम्पनीहरूले मात्र पाउँछन्। प्राधिकरणको नियमनअनुसार इन्टरनेट सेवाप्रादयकहरूले भने निश्चित क्षेत्रमा लगइन गरेर निश्चित अवधिका लागिमात्र नि:शुल्क वाइफाई सेवा दिन पाउँछन्। 

यो नियम उल्लंघन गरेको खण्डमा कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ। 

वर्ल्डलिंकले भने यस्तो नि:शुल्क वाईफाईको नाममा मूल व्यापारको प्याकेजमा जोडेको थियो। नाम नि:शुल्क भएपनि मुख्य प्याकेजमा भएपछि त्यो पनि मूल्यसहितकै हो। यस्तो व्यापार गर्नका लागि उसले अहिले नेपालभर १४ हजार ठाउँमा वाईफाई एक्सप्रेस स्पट रहेको उल्लेख गरेको छ। 


प्रकाशित : आइतबार, साउन ११ २०८२१७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend