शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

जहाज उडाउन नसकेर घाटामा रहेको नेपाल वायुसेवा निगमले १५ सय कर्मचारीलाई बाँड्यो बोनस

बिहीबार , साउन १ २०८२
जहाज उडाउन नसकेर घाटामा रहेको नेपाल वायुसेवा निगमले १५ सय कर्मचारीलाई बाँड्यो बोनस

निगमको वित्तीय व्यवस्थापनमा सुधार नआएमा सार्वजनिक कोषमा थप जोखिम उत्पन्न हुने महालेखापरीक्षकको चेतावनी दिइरहेको बेला कर्मचारीलाई बोनस वितरण गरिएको हो।

काठमाडौं- जहाज उडाउन नसकेर वित्तीय रूपमा चरम घाटामा रहेको नेपाल वायुसेवा निगमले कर्मचारीलाई बोनस वितरण गरेको छ। निगमले असार ३२ गते करार, स्थायी तथा अस्थायी गरी झण्डै १५ सय कर्मचारीलाई प्रतिव्यक्ति १० हजार रुपैयाँको दरले बोनस वितरण गरेको हो।

लगभग ५० अर्ब रुपैयाँ ऋणमा रहेको निगमले ऋणदाता संस्थालाई किस्ता र ब्याज तिर्न नसकेको अवस्थामा समेत कर्मचारीलाई करिब डेढ करोड रुपैयाँ बोनस वितरण गरेको निगम उच्च स्रोतले जानकारी दिएको छ। कार्यकारी अध्यक्ष युवराज अधिकारीले कर्मचारी रिझाउन बोनस बितरण गराएका हुन्।

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार, निगमलाई कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दिइएको कर्जा समयमै फिर्ता हुन नसकेको र ब्याज भुक्तानीमा समेत समस्या आएको देखिएको छ।

निगमले कर्मचारी सञ्चय कोषबाट 'ए ३२०' र 'ए ३३०' एयरबस विमान खरिद गर्न क्रमशः ९ अर्ब ९८ करोड र ११ अर्ब ९९ करोड ऋण लिएको थियो। नियमित रूपमा ब्याज नतिरेक भएपछि कर्मचारी सञ्चय कोषले ब्याज पुँजीकरण गरेको कारण कर्जा रकम २८ अर्ब ५७ करोड पुगेको छ।

त्यस्तै नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ कर्जा लिँदा ब्याजसहित रकम १९ अर्ब ३९ करोड पुगेको छ, जुन फिर्ता गर्न सकिएको छैन।

महालेखाले दीर्घकालीन परियोजनामा कर्जा प्रवाह गर्दा परियोजना मूल्यांकन र जोखिम विश्लेषण अनिवार्य हुनुपर्ने सुझाव दिएको छ। साथै कर्जा फिर्ता प्रक्रिया कमजोर देखिएपछि छानबिन गरी सुधार आवश्यक रहेको जनाएको छ।

निगमको वित्तीय व्यवस्थापनमा सुधार नआएमा सार्वजनिक कोषमा थप जोखिम उत्पन्न हुने महालेखापरीक्षकको चेतावनी दिइरहेको बेला कर्मचारीलाई बोनस वितरण गरिएको हो।


प्रकाशित : बिहीबार , साउन १ २०८२०७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend