सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका

शुक्रबार, साउन ९ २०८२
बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका

यस वर्षको मनसुन सरु भएदेखि हालसम्म चारपटक उक्त बस्ती बाढीपहिरोको उच्च जोखिममा परिसकेको छ।

मुस्ताङ- यहाँको थासाङ गाउँपालिका-२ स्थित (कोवाङ-लार्जुङ)बीच भागमा बग्ने लाङ्क्यु खोलामा जल सतह उच्च हुँदा लार्जुङ बस्तीका करिब १८ घर बाढीको उच्च जोखिममा पर्ने गरेका छन्।

धौलागिरि आइसफलको फेँदबाट बग्ने लाङ्क्यु खोलामा पानीको बाहव बढी हुँदा लार्जुङ बस्ती उच्च जोखिममा पर्ने गरेका हुन्। यस वर्षको मनसुन सरु भएदेखि हालसम्म चारपटक उक्त बस्ती बाढीपहिरोको उच्च जोखिममा परेको हो। बर्खायाममा लाङ्क्यु ठाँडो खोलाको बाहवले लार्जुङ बस्तीलाई बर्सेनि तर्साइरहन्छ।

गत १६ असार र साउन ७ गते लाङ्क्यु खोलाको बाहव उच्च भएपछि वर्षा हुँदा स्थानीय बाढी आउने सक्ने त्रासमा बस्ने गरेका छन्। ठाडो खोलाको बाढीले बस्ती बगाइदिने चिन्ताले लार्जुङबासीको मनमा त्रासदी छाएको छ।

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, जनप्रतिनिधि, थासाङ गाउँपालिकालगायतले बस्ती बचाउने उद्देश्यले मध्यरातिसम्म खोलालाई नियन्त्रणमा लिन डोजर चलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास परियारले जानकारी दिए।

'अझै पनि लार्जुङ बस्तीको जोखिम कायम रहेकाले बुधबारदेखि खोलालाई नियन्त्रणमा लिन पालिकाले थप अग्रसरता देखाएको छ', उनले भने। कोवाङ-लार्जुङ बीचको लाङ्क्यु खोलामा बाढीसँगै ढुंगा, गिट्टी, बालुवा र ग्रेगान भरिँदै जान थालेपछि नदी उकास वृद्धि हुँदा बस्ती जोखिममा परेको परियारले बताए। 

'लाङ्क्यु खोलाको करिब तीन सय मिटरभन्दा बढी दुरीमा नदीजन्य गेग्रान भरिँदा बस्ती उच्च जोखिममा परेको हो। मनसुन कायमै रहेकाले कुनै पनि बेला विपद्जन्य घटना हुनसक्ने भएकाले बस्ती जोगाउन पहल थालेका छौँ', उनले भने, 'खोलालाई साविकको अवस्थामा बग्नदिन नदी उकास घटाउनुपर्ने भएपछि पालिकाको पहलमा खोलामा थुप्रिएका ढुंगा, गिट्टी, बालुवा र ग्रेगान पन्छाउन सुरु गरेका हौँ।'

पालिकाले डोजर भाडामा लिएर बाढीका कारण हुनसक्ने जोखिमबाट बस्ती जोगाउन करिब तीन सय मिटर दुरीमा नदीजन्य उकास घटाएर खोलाको गहिराइ बढाउने काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत परियारले जानकारी दिए। उनले कोवाङ-लार्जुङ जोड्ने पुलबाट कालीगण्डकी नदीको दोभानसम्म दुई सय मिटर र उक्त पुलबाट माथिल्लो भागको करिब एक सय मिटर दुरीमा भरिएको ग्रेगान पन्छाउन गाउँपालिका कार्यालय प्रयासरत रहेको उल्लेख गरे।

दुई दिनसम्ममा करिब आधा भन्दा बढी ग्रेगान पन्छाउने काम भएको जनाउँदै उनले अझै केहीदिन लाग्नसक्ने उल्लेख गरे। उनका अनुसार लाङ्क्यु खोलामाथिको अवस्थित पुरानो झोलुङे पुलका कारण बाढी आउँदा बस्ती जोखिममा पर्ने महसुस गरी उक्त पुल हटाइएको छ।

नदी उकाससँगै बाढी आउँदा अवस्थित पक्की पुल माथिबाट खोला बग्ने गरेकाले उक्त पुल हटाइएको थासाङ-२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए। मनसुन कायम रहेकाले उक्त पुल पनि बगाउनसक्ने जोखिम रहेको बताउँदै उनले तत्कालका लागि सम्भावित बाढीको जोखिम न्यूनीकरण गर्न डोजर परिचालन गरेर लाङ्क्यु खोलाको सतहलाई तल झार्ने काम थालिएको जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend