शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

उड्डयन प्राधिकरणको बजेट ३१ अर्ब ४० करोड, प्राथमिकतामा दीर्घकालीन पूर्वाधार निर्माण

बुधबार, साउन ७ २०८२
उड्डयन प्राधिकरणको बजेट ३१ अर्ब ४० करोड, प्राथमिकतामा दीर्घकालीन पूर्वाधार निर्माण

चालु तथा निरन्तर योजनाहरूका लागि ११ अर्ब ५९ करोड ४१ लाख र अघिल्लो वर्षको बाँकी दायित्व तिर्न ६७ करोड ३५ लाख रुपैयाँको व्यवस्था गरिएको छ।

काठमाडौं-  नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड ७६ लाख रुपैयाँबराबरको बजेट र कार्यक्रम स्वीकृत गरेको छ।

प्राधिकरणले पुँजीगत संरचना विस्तार, प्रमुख विमानस्थलहरूमा स्तरोन्नति, अन्तर्राष्ट्रिय साझेदारी परियोजनालगायतका आगामी योजनाहरूलाई प्राथमिकता दिँदै बजेट तर्जुमा गरेको हो।

प्राधिकरणले यो वर्षलाई हवाई पूर्वाधार विस्तारमा केन्द्रित गर्दै दीर्घकालीन रणनीतिक सुधारका काम अघि बढाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारले जनाकारी दिए। 'दीर्घकालीन योजनाहरु अगाडि बढाउन ३१ अर्ब ४० करोड ७६ लाख रुपैयाँबराबरको बजेट र कार्यक्रम स्वीकृत गराएका छौँ', महानिर्देशक अधिकारीले भने।

बजेटअनुसार पुँजीगत शीर्षकमा १२ अर्ब ३९ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ३९ प्रतिशत हो। त्यस्तै सञ्चालन खर्च ६ अर्ब १५ करोड ६७ लाख (२० प्रतिशत) र वित्तीय व्यवस्था शीर्षकमा १२ अर्ब ८५ करोड ११ लाख (४१ प्रतिशत) विनियोजन गरिएको छ।

प्राधिकरणले यो वर्ष १६ अर्ब रुपैयाँ आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो। बाँकी आवश्यक रकम ऋण, अनुदान, मूल्य अभिवृद्धि कर, पेश्की मौज्दात र बैंक मौज्दातबाट व्यवस्थापन गरिने उल्लेख छ।

प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तयारीमा यसपटक पनि रकम छुट्याएको छ। परिधी सडक निर्माण, वातावरणीय मूल्यांकन, पुनर्वास, साइट क्लियरेन्स, रुख कटान तथा तटीकरणजस्ता कामका लागि करिब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ। मुख्य निर्माण कार्यका लागिसमेत रकम राखिएको छ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कामलाई निरन्तरता दिँदै रनवे दक्षिणतर्फ समानान्तर विस्तार, ह्याङ्गर विकास, एप्रोन विस्तार र परामर्श सेवाका लागि ६ अर्बभन्दा बढी रकम छुट्याइएको छ। यीमध्ये अधिकांश परियोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अघि बढाइने उल्लेख छ।

एडीबीको सहकार्यमा सञ्चालित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गतमात्रै ४ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ।

चालु तथा निरन्तर योजनाहरूका लागि ११ अर्ब ५९ करोड ४१ लाख र अघिल्लो वर्षको बाँकी दायित्व तिर्न ६७ करोड ३५ लाख रुपैयाँको व्यवस्था गरिएको छ।


प्रकाशित : बुधबार, साउन ७ २०८२१७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend