बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चार उच्च भोल्टेजयुक्त प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रलाई प्राधिकरणको आह्वान, ४२ अर्ब रूपैयाँ लागत

सोमबार, साउन ५ २०८२
चार उच्च भोल्टेजयुक्त प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रलाई प्राधिकरणको आह्वान, ४२ अर्ब रूपैयाँ लागत

प्राधिकरणले प्रस्ताव गरेका चार प्रसारण लाइनमध्ये सबैभन्दा लामो तिङ्ला-दूधकासी-ढल्केबर ४०० केभी प्रसारण लाइन हो, जसको लम्बाइ ११८ किलोमिटर रहेको छ।

काठमाडौं- देशको विद्युत प्रसारण प्रणाली सुदृढीकरणको लक्ष्यसहित नेपाल विद्युत प्राधिकरणले सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा चारवटा उच्च भोल्टेज प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रबाट आशयपत्र माग गरेको छ।

सूचना प्रकाशित गर्दै प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गर्न लागिएका कुल ३ सय २२ किलोमिटर लामो प्रसारण लाइनका लागि निजी क्षेत्रलाई प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरेको हो।

निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा अघि बढाइने यी आयोजनाको कुल अनुमानित लागत ३२० मिलियन अमेरिकी डलर (करिब ४२ अर्ब रुपैयाँबराबर) रहेको छ।

सार्वजनिक सूचनामा उल्लेख गरिएअनुसार इच्छुक निजी कम्पनीले उक्त प्रसारण लाइन सञ्चालन गर्दा आवश्यक पर्ने वार्षिक आम्दानी उल्लेख गर्दै प्राधिकरणमा आशयपत्र पेश गर्नुपर्नेछ। प्रतिस्पर्धी प्रक्रियामार्फत वार्षिक आम्दानीको दर, प्राविधिक क्षमता र वित्तीय प्रस्तावको मूल्यांकन गरी उपयुक्त कम्पनी छनोट गरिने उल्लेख छ।

प्राधिकरणले प्रस्ताव गरेका चार प्रसारण लाइनमध्ये सबैभन्दा लामो तिङ्ला-दूधकासी-ढल्केबर ४०० केभी प्रसारण लाइन हो, जसको लम्बाइ ११८ किलोमिटर रहेको छ। यस आयोजनामात्रको लागत करिब १४२ मिलियन डलर अनुमान गरिएको छ।

त्यसैगरी, न्यु खिम्ती-ढल्केबर, लप्सीफेदी-तीनपिप्ले र अरुण (हब)-इनरुवा प्रसारण लाइनहरू पनि प्राधिकरणले पीपीपी मोडेलमा अघि बढाउन खोजेको हो।

प्राधिकरणले सूचनामा निजी कम्पनीहरूलाई ३० दिनभित्र आशयपत्र बुझाउन भनेको छ। आवश्यक फारम तथा प्रश्नावली प्राधिकरणको वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको उल्लेख छ। आशयपत्र प्राधिकरणको इमेलमार्फत वा दरबारमार्गस्थित व्यवसाय विकास निर्देशनालयमा हार्डकपी रूपमा बुझाउन सकिने जनाइएको छ।

चारवटा प्रसारण लाइन आयोजना

न्यु खिम्ती-ढल्केबर (४०० केभी) : ८० किलोमिटर लम्बाइ, अनुमानित लागत ८० मिलियन डलर (११ अर्ब ५ करोड रुपैयाँ)

लप्सिफेदी-तीनपिप्ले (२२० केभी) : ३० किलोमिटर लम्बाइ, लागत १८ मिलियन डलर (१ अर्ब ४८ करोड)

तिङ्ला-दूधकासी-ढल्केबर (४०० केभी) : ११८ किलोमिटर लम्बाइ, लागत १४२ मिलियन डलर (१९ अर्ब ६१ करोड ५८ लाख)

अरुण हब-इनरुवा (४०० केभी) : ९४ किलोमिटर लम्बाइ, लागत ८० मिलियन डलर (११ अर्ब ५ करोड रुपैयाँ)

nea.png


प्रकाशित : सोमबार, साउन ५ २०८२११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend