शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन : उडेको ३२ सेकेन्डमै इन्जिन ‘कटअफ’

बुधबार, असार ३२ २०८२
एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन : उडेको ३२ सेकेन्डमै इन्जिन ‘कटअफ’

भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले अनुसन्धान जारी राखेको छ। अन्तिम प्रतिवेदन एक वर्षभित्र सार्वजनिक हुने अनुमान छ।

काठमाडौं- एयर इन्डियाको ड्रिमलाइनर विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले विमान उडेको ३२ सेकेन्डमै दुबै इन्जिनको इन्धन आपूर्ति अचानक बन्द भएको देखाएको छ।

विमान अहमदाबाद विमानस्थलनजिकैको बीजे मेडिकल कलेजको छात्रावास भवनमा ठोक्किँदा २४१ यात्रु र जमिनका १९ जनाको ज्यान गएको थियो। एक जनामात्र बाँच्न सफल भए।

रिपोर्ट उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार उडान थालेको केही सेकेन्डमै ककपिटको इन्धन नियन्त्रण स्विचहरू ‘रन’ बाट ‘कटअफ’ मा पुगेका थिए। यसपछि दुबै इन्जिनले इन्धन पाउन छोडे र विमान तुरुन्तै शक्तिहीन भयो।

यी स्विच ककपिटको मध्य कन्सोलमा हुन्छन् र स्प्रिङ-लोडेड लकिङ मेकानिज्मले गल्तीले तानिन नदिने व्यवस्था हुन्छ। सामान्य अवस्थामा पाइलटले सचेत रूपमा मात्रै माथि तानेर सार्न सक्ने यो स्विच अचानक आफै कसरी सरे भन्ने प्रश्न उठेको छ।

ककपिट रेकर्डरमा भेटिएको संवादअनुसार दुर्घटनाको केही सेकेन्डअघि एक पाइलटले 'तिमीले किन इन्जिन बन्द गर्‍यौ?' भनेका थिए भने अर्का पाइलटले 'मैले केही गरेको छैन!' भनेर प्रतिक्रिया दिएका थिए। यद्यपि अहिलेसम्म कसले स्विच चलायो भन्ने खुल्न सकेको छैन।

दुर्घटनापछि विमानका पाइलटहरूले इन्जिन पुनः सुरु गर्ने प्रयास गरेको देखिन्छ। उडेको १९ सेकेन्डपछि बायाँ इन्जिनको स्विच फेरि ‘रन’ मा फर्काइएको थियो भने १७ सेकेन्डअघि ब्याकअप इन्जिन (एपीयू) स्वतः सुरु भएको थियो। त्यसपछि १५ सेकेन्डअघि दायाँ इन्जिनको स्विच पनि ‘रन’ मा फर्काइएको थियो।

रिपोर्टले दुबै इन्जिनको एक्जोस्ट ग्यास तापमान बढेको देखाए पनि दायाँ इन्जिनले गति कायम राख्न सकेन र विमानले स्थिरता गुमायो।

दुर्घटनाको अन्तिम ६ सेकेन्डअघि पाइलटले तीन पटक 'मेडे! मेडे! मेडे!' भनेर रेडियोमार्फत आपतकालीन सन्देश पठाएका थिए। तर जवाफ आउन नपाउँदै विमान रनवेदेखि करिब १.६ किलोमिटर टाढा भवनमा ठोक्किएको थियो।

दुर्घटनापछि ३७ हजार वर्गमिटर क्षेत्रमा मलबा फैलिएको र पाँच भवनमा गम्भीर क्षति पुगेको छ। प्रारम्भिक अनुसन्धानले दुबै इन्धन स्विचहरू फेरि ‘रन’ अवस्थामा भेटिएका छन् तर ती सुरुमा ‘कटअफ’ मा किन पुगे भन्ने अझै रहस्य नै छ।

भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले अनुसन्धान जारी राखेको छ। अन्तिम प्रतिवेदन एक वर्षभित्र सार्वजनिक हुने अनुमान छ।


प्रकाशित : बुधबार, असार ३२ २०८२१०:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend