बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुग्लिन-पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो, प्रगति ८६ प्रतिशत

मंगलबार, असार ३१ २०८२
मुग्लिन-पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो, प्रगति ८६ प्रतिशत

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भइ २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो। सो कामको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको हो।

तनहुँ- मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ। तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो। 

पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ।

कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। यस खण्डको हालसम्मको प्रगति ८६ प्रतिशत छ। 

उनले भने, 'कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन्। अधिकांश ठाउँमा सडक रङरोगन पनि सकिएको छ। अब थोरै मात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका छौँ।'

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भइ २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो। सो कामको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको हो।

विसं २०२६ मा रेखांकन भएको यस सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ। रासस


प्रकाशित : मंगलबार, असार ३१ २०८२१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend