बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न मन्त्री खड्काको निर्देशन, निजी क्षेत्रसँगको सहकार्यलाई पनि बल

शुक्रबार, असार २७ २०८२
ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न मन्त्री खड्काको निर्देशन, निजी क्षेत्रसँगको सहकार्यलाई पनि बल

'साना र मझौला आयोजनाले पनि ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिएका छन्, त्यसलाई बेवास्ता गर्न सकिँदैन', ऊर्जामन्त्री दीपक खड्काले भने।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने स्पष्ट निर्देशन दिएका छन्।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १४औँ वार्षिकोत्सव समारोहमा मन्त्री खड्काले सरकारले कम्पनी मोडेलमा गठन गरेको एचआईडीसीएलले अहिलेसम्म खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरे।

उनले २५ मेगावाटभन्दा कम क्षमताका आयोजनालाई बाइपास गर्न नहुने उल्लेख गर्दै भने, 'साना र मझौला आयोजनाले पनि ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिएका छन्, त्यसलाई बेवास्ता गर्न सकिँदैन।' उनले नीति परिमार्जनमार्फत साना लगानी र कम मेगावाटका आयोजनासमेतलाई समेट्ने कार्ययोजना बनाउनुपर्ने धारणा राखे।

मन्त्री खड्काले ठूला आयोजना र लगानीकर्तालाई आकर्षित गर्न एचआईडीसीएलले सहजीकरणको भूमिका अझ मजबुत बनाउँदै आवश्यक परे ऋण र इक्विटीका माध्यमबाट वित्तीय अभाव समाधान गर्न निर्देशन दिए। 'कसैलाई डुब्न नदिने नीति ल्याउनुपर्छ,' उनले भने।

त्यस्तै, मुलुकको ऊर्जा आत्मनिर्भरता र निर्यातको सम्भावनालाई साकार बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको मन्त्रीको स्पष्ट धारणा थियो। 'आजको आवश्यकताअनुसार नयाँ सोच र प्रविधिसँगै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्छ,' उनले भने, 'यसले मुलुकको आर्थिक वृद्धिमा प्रत्यक्ष टेवा पुर्‍याउँछ।'

जलस्रोत राष्ट्रको प्राकृतिक सम्पत्ति भएकाले यसको वैज्ञानिक र दिगो उपयोगमा सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्रीले जलविद्युत् परियोजनाहरूको समयमै सम्पन्नता, गुणस्तरीय निर्माण र लगानीमैत्री वातावरण सिर्जनामा नीतिगत सुधारलाई अघि बढाइरहेको जानकारी दिए।

मन्त्री खड्काले ऊर्जा क्षेत्रमै थप लगानी भित्र्याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा राख्दै भने, 'स्रोत र खनिजको सदुपयोग गरेर मात्रै देशलाई समृद्धिको बाटोमा लयाउन सकिन्छ। ऊर्जा क्षेत्र आफै बैंकको बैंक बन्न सक्छ।'


प्रकाशित : शुक्रबार, असार २७ २०८२१८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend