बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा ‘नैतिक संहिता’ लागु

शुक्रबार, असार २७ २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा ‘नैतिक संहिता’ लागु

आचारसंहितामा खाडी मुलुकहरूमा श्रम गर्न प्रस्थान गर्दा सम्मानयुक्त शब्दहरू प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने, बोलीवचनमा मिठासपन दिने, देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोलीवचन र हाउभाउले आत्मियता प्रदान गर्नेलगायत विषयहरू उल्लेख गरिएका छन्।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आफ्ना कर्मचारीहरूका लागि आजदेखि 'नैतिक संहिता' लागु गरेको छ।

अध्यागमन सेवालाई प्रभावकारी बनाउने उद्देश्यले नैतिक संहिता बनाइ आजदेखि लागु गरिएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्तअनुरूप कर्मचारीलाई विद्यमान राष्ट्रिय कानून, सामाजिक तथा सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाइ कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेसागत आचरणका साथै व्यवहारका माध्यमबाट आमनागरिकले अनुभूति गर्नेगरी सेवा प्रवाहलाई छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन आचारसंहिता लागु गरिएको हो।

विभागका अनुसार प्रस्थान गर्ने यात्रुलाई कम्तीमा शुभयात्रा (ह्याब अ नाइस जर्नी) भन्ने, नेपालभित्र प्रवेश गर्नेलाई कम्तीमा नेपालमा स्वागत छ (वेलकम इन नेपाल) भन्ने तथा कम र आवश्यक प्रश्नमात्र गर्ने आचारसंहितामा उल्लेख छ।

आचारसंहितामा खाडी मुलुकहरूमा श्रम/काम गर्न प्रस्थान गर्दा सम्मानयुक्त शब्दहरू प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने, बोलीवचनमा मिठासपना दिने, देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोलीवचन र हाउभाउले आत्मियता प्रदान गर्नेलगायत विषयहरू उल्लेख गरिएका छन्।

उक्त नैतिक संहिताअनुरूपको व्यवहार देखिएको/नदेखिएको यात्रुहरूले तत्कालै व्यक्त गर्न हाल कार्यालयको १५ वटा कक्षमा आफूले प्राप्त गरेको सेवाको सन्तुष्टि व्यक्त गर्नेगरी सर्वेक्षणको पनि व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

सर्वेक्षणमा स्वेच्छिकरूपमा आफूले प्राप्त गरेको सेवा तथा व्यवहारका विषयमा राय व्यक्त गर्न सकिनेगरी आवश्यक व्यवस्था मिलाइएको विभागले आजै सूचना जारी गरी जानकारी गराएको छ। रासस


प्रकाशित : शुक्रबार, असार २७ २०८२१७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend