बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेसन, स्थानीयले प्रसारण लाइनको तार तान्न अवरोध गरे

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २७ २०८२
अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेसन, स्थानीयले प्रसारण लाइनको तार तान्न अवरोध गरे

लाइन विस्तारका लागि करिब ८३ करोडको लागतमा सिक्माकोन/एमएसपील जेभीलाई जिम्मा दिइएको थियो। कपिलवस्तुबाट बुर्तिबाङ ८६ किलोमिटर दूरी रहेको छ। यहाँ डबल सर्किटको तार विस्तार हुने छ।

बागलुङ- एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेसनको निर्माणकार्य अझै सम्पन्न भएको छैन। बागलुङको बडिगाड गाउँपालिका-५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो।

छ वर्षअगाडि निर्माण सुरू भएको सबस्टेसन हालसम्म ९० प्रतिशतभन्दा बढी काम सकिएको छ। एक वर्षदेखि स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको थियो।

गत वर्ष असार ९ गते सर्वोच्चले रिट नै खारेज गरिदिएको थियो। अहिले टावर निर्माण सम्पन्न भए पनि तार तान्ने काममा अवरोध भएको आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए।

पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्नका लागि कपिलवस्तुको मोतिपुरदेखि आयोजना सुरू भएको थियो। उक्त आयोजनाले अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास, पौँदी अमराई हुँदै बुर्तिबाङ जोड्ने एक सय ३२ केभीको सबस्टेसन २०७८ सालदेखि निर्माण सुरु भएको थियो। ढोरपाटन नगरपालिका-२ खल्टुबोटमा सबस्टेसन निर्माण भएको छ। 

सबस्टेसनको काम सम्पन्न भए पनि लाइन तान्ने काम बाँकी हुँदा आयोजना समयमै सम्पन्न गर्न नकिएको प्रमुख चौधरीको भनाइ छ। स्थानीयले काममा अवरोध नगरेको भए गत वर्ष असार मसान्तमै विद्युत् सञ्चालनमा आउने उनले बताए। 

मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन २०७८ साल चैत १२ गते परीक्षण गरी सञ्चालन गरिएको र गुल्मी तम्घासको सबस्टेसन अघिल्लो वर्ष असार ७ गतेदेखि सञ्चालनमा आएको प्रमुख चौधरीले जानकारी दिए। बुर्तिबाङ सबस्टेसन सञ्चालनमा आउनका लागि अब पौँदी अमराईबाट बुर्तिबाङसम्मको १८ किलोमिटर तार तान्न बाँकी रहेको उनको भनाइ छ। 

सबस्टेसन निर्माणका लागि छ वर्ष अगाडि ठेक्का प्रक्रिया गरी ४० करोडमा मुडभरी/जोशी/गौरा जेभीले जिम्मा लिएको थियो भने लाइन विस्तारका लागि करिब ८३ करोडको लागतमा सिक्माकोन/एमएसपील जेभीलाई जिम्मा दिइएको थियो। कपिलवस्तुबाट बुर्तिबाङ ८६ किलोमिटर दूरी रहेको छ। यहाँ डबल सर्किटको तार विस्तार हुने छ।

'हामीहरूले अघिल्लो वर्ष नै काम सम्पन्न गरेर विद्युत् सेवा प्रवाह गर्ने गरी काम गरेका थियौँ, सबै काम सकिएको थियो, जम्मा १८ किलोमिटर लाइन तान्न मात्र बाँकी छ', आयोजना प्रमुख चौधरीले भने, 'यो अवरोध हटाउनका लागि स्थानीयसँग समय-समयमा छलफल भएको छ, विवाद समाधान भयो र काम सुरू भयो भने सकिनका लागि धेरै समय लाग्दैन।'

चौधरीले आयोजना सम्पन्न गर्ने म्याद अघिल्लो वर्षमा माघ २८ गते सकिएको र छ महिना थप गरेको भन्दै अवरोध नहट्दा निर्माण कम्पनीले काम गर्न नसकेको बताए।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले प्रसारण लाइनबाट प्रभावित बनेका स्थानीयलाई मुअब्जा दिलाउनका लागि कार्यदल गठन भएको जानकारी दिए।

स्थानीयले मुअब्जा पाएपछि समस्या समाधान हुने उनको भनाइ छ। कार्यदलले प्रतिवेदन पेस गरेर मुअब्जा वितरण भएपछि काम अगाडि बढ्ने गुरुङले बताए। रासस


प्रकाशित : शुक्रबार, असार २७ २०८२०८:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend