बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

त्रिवि क्रिकेट मैदानको म्याद दोस्रोपटक थपिँदै, एनपीएलअघि तयार पार्ने योजना

आइतबार, असार २९ २०८२

ओली नेतृत्वको सरकारले तीन सय दिनमा काम सक्ने घोषणा गरेको भए पनि अहिले ३ सय ६५ दिन हुन लाग्दा आयोजनामा दोस्रोपटक म्याद थपिँदै छ।

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने विषयले चर्चा पाएको लामो समयपछि बल्ल देखिने गतिमा काम भइरहेको छ। साच्चिँकै अन्तर्राष्ट्रिय क्रिकेट मैदानको झल्को दिनेगरी पुनर्निर्माण भइरहेको त्रिवि मैदान आगामी नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने समयअघि तयार पार्ने योजना छ। 

सन् १९९८ मा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको त्रिवि मैदानमा अब भने रातको समयमा पनि खेल सञ्चालन हुन सक्ने छ। हालसम्मलाई एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको कीर्तिपुर मैदानमा थपिएका संरचनाले दर्शकलाई समेत सहज हुने छ।

प्यारापिट निर्माणपछि १० हजार दर्शक बसेर खेल हेर्न सक्ने छन्। त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) ले यो मैदानमा क्रिकेट आयोजना गर्दै आइरहेको छ। 

केपी शर्मा ओलीले पछिल्लो समय २०८१ असार ३० गते प्रधानमन्त्रीको कार्यभार सम्हालेसँगै मन्त्रिपरिषद्‍को पहिलो बैठकले त्रिवि क्रिकेट मैदानलाई स्तरोन्नति गरेर सुविधाजनक बनाउने निर्णय गरेको थियो। त्यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहँदा फ्लड लाइट जडानको विषय अघि बढेको थियो। 

ओली नेतृत्वको सरकारले तीन सय दिनमा काम सक्ने घोषणा गरेको भए पनि अहिले ३ सय ६५ दिन हुन लाग्दा आयोजनामा दोस्रोपटक म्याद थपिँदै छ। क्रिकेट मैदान स्तरोन्नतिको सरकारी जिम्मेवार निकाय सहरी विकास मन्त्रालय हो। 

TU ground (2).jpg

मन्त्रिपरिषद्ले घोषणा गरेपनि नेपालको खरिद नियमावलीअनुसार ठेक्का आह्वान गरेर निर्माण व्यवसायी छनोट गर्दासम्म २०८१ को फागुन तेस्रो साता भइसकेको थियो। अर्थात् सरकारले निर्णय गरेको लगभग आठ महिनापछि निर्माण कम्पनी छनोट भएर फिल्डमा काम सुरु भयो।

मैदानको प्यारापिट बनाउन बीकेओआई-केसीडीसी-बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन-ईश्वरी जेभीले फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका हुन्।

प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको संघीय सचिवालयका सिनियर डिभिजलन इन्जिनियर (सीडीई) गणेश कर्मचार्य बताउँछन्।

TU ground (3).jpg

मन्त्रिपरिषद्को निर्णयले दिएको सुरुवाती म्याद २०८२ बैशाख २४ गते सकिएको हो। तर काम नसकिएपछि प्रधानमन्त्री ओलीले यसअघि सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग सोधखोज गरेर २०८२ असारसम्म म्याद थप गर्ने घोषणा गरे।

थपिएको म्यादमा पनि क्रिकेट मैदान स्तरोन्नति नसकिएकाले फेरि म्याद थप्नुपर्ने भएको सीडीई कर्मचार्यले बताएका छन्। उनका अनुसार असार अन्तिमसम्म फ्लडलाइटको काम करिब ४५ प्रतिशत र प्यारपिटको करिब ७० प्रतिशत भएको छ।

यद्यपि सुरुमै म्याद थोरै दिएकाले अहिले भएको प्रगतिलाई कम भन्न नमिल्ने सीडीई कर्मचार्य बताउँछन्। साथै निर्माण कम्पनीको काम सन्तोषजनक रहेको उनको भनाइ छ। ‘सुरुमै थोरै म्याद छ, फेरि बर्खा लागेर सामान पुर्‍याउन, काम गर्न सजिलो छैन’ उनले भने।

TU ground (4).jpg

दुईवटै निर्माण कम्पनीले भदौ १५ गतेसम्म दोस्रो पटक म्याद थप हुनुपर्ने समय मागेका छन्। तर कतिदिन समय थप गर्ने निश्चित नभएको कर्मचार्यले बताए। साथै आगामी एनपीएल (आउँदो मंसिर-पुस) सम्म स्तरोन्नतिको काम सकेर मैदान खुला गरिने उनले दाबी गरे। 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन २०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन भएको थियो।

कर्मचार्य भन्छन्, ‘एनपिएल आउँन बाँकी नै छ, यता मैदानमा पनि काम भइरहेको छ। त्यसैले आरामदायी तरिकाले खेल हेर्न सकिन्छ।’

TU ground (5).jpg

त्रिवि मैदानमा जडान गरिने ६ वटा फ्लडलाइटमध्ये तीनवटा टावर काठमाडौं आइपुगेका छन्। भारतको उत्तर प्रदेशबाट ९ दिन लगाएर फ्लडलाइट टावर काठमाडौं ल्याइएको हो। अहिले १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र ६ वटा फ्लडलाइट जडानको काम भइरहेको हो। प्यारापिटलाई रंगशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ। 

मैदानको निर्माण कार्यलाई प्रभावकारी बनाउन भन्दै सिंहदरबारस्थित सहरी विकास मन्त्रालयभित्र सीसी क्यामेरा राखेर त्यहाँबाट नै प्रत्यक्ष अवलाेकन गर्ने व्यवस्थासमेत गरिएकाे छ। 

तस्बिर/भिडियो : नकुल भारती, बिजनेस न्युज


प्रकाशित : आइतबार, असार २९ २०८२१३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend