बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्न भरतपुरको नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रीकालीन बजार

बिहीबार , असार २६ २०८२
स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्न भरतपुरको नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रीकालीन बजार

रात्रीकालीन बजार क्षेत्रभित्र सडकमा कुनै सवारीसाधन चलाउन नपाइने र सडकपेटीमा कक्षहरु राखिने व्यवस्था मिलाइएको छ।

चितवन- भरतपुर महानगरपालिकामा उत्पादन भएका सामग्रीहरुको प्रवर्द्धनका लागि रात्रीकालीन बजार सुरु गर्न लागिएको छ। भरतपुर महानगरपालिका-२ को नमस्ते चोकदेखि मेयर चोकसम्म बजार प्रवर्द्धनका लागि रात्रीकालीन बजार सुरु गर्न लागिएको हो। 

स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य सहित रात्रीकालीन बजार सुरु गर्न लागिएको वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाटले बताए। हरेक शुक्रबार साँझ ६ बजेदेखि १० बजेसम्म बजार सञ्चालन हुने उनले जानकारी दिए।

अध्यक्ष रानाभाटका अनुसार स्थानीय तथा प्रांगारिक उत्पादनलाई बजारीकरण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजार सञ्चालन गर्ने तयारी गरिएको हो। यही असार २७ गते शुक्रबारबाट बजार सञ्चालनमा ल्याउन लागिएको उनले बताए।

बजारमा वडावासीलाई प्रदर्शनी कक्षहरु निःशुल्क प्रदान गरिने छ भने महानगरवासीलाई सामान्य शुल्क लिएर स्टल प्रदान गर्न लागिएको हो। 

उनले भने, 'आफ्नै घरमा उत्पादन भएका प्रांगारिक वस्तु तथा अन्य उत्पादित वस्तुले सहजै बजार पाओस् भन्ने उद्देश्यले बजार सुरु गर्न लागिएको हो।'

यसले स्वरोजगारलाई प्रवर्द्धन गर्न सहज हुने विश्वास लिइएको छ। रात्रीकालीन बजारमा स्थानीय तरकारी, फलफूल, घरमै बनाएको अचार, हस्तकला, रेष्टुरेन्ट, कपडालगायतका प्रदर्शनीकक्षहरु रहनेछन्।

रात्रीकालीन बजार क्षेत्रभित्र सडकमा कुनै सवारीसाधन चलाउन नपाइने र सडकपेटीमा कक्षहरु राखिने व्यवस्था मिलाइएको छ।

पहिलो शुक्रबार ६० भन्दा बढी कक्षहरु रहने छन्। उक्त बजारमा स्वच्छ खानेपानी, शौचालयको सुविधा, पार्किङलगायत २४ सै घण्टा सिसिटीभीले निगरानी गरिने छ। उपभोक्ताले गुणस्तरीय तथा सहुलियत रुपमा सामान खरिद गर्न पाउने अध्यक्ष रानाभाटले बताए। रासस


प्रकाशित : बिहीबार , असार २६ २०८२१५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend