बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सुदूरपश्चिमको बडीमालिका मन्दिर नेपाली सेनाद्वारा पुनर्निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २६ २०८२
सुदूरपश्चिमको बडीमालिका मन्दिर नेपाली सेनाद्वारा पुनर्निर्माण

मेलापर्व, दर्शन तथा प्राकृतिक सौन्दर्यको आकर्षणले गर्दा बडीमालिका क्षेत्र सुदूरपश्चिमकै प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्य बनेको छ।

बाजुरा- नेपालको सुदूरपश्चिम क्षेत्रको ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्व बोकेको बडीमालिका मन्दिरको पुनर्निर्माण कार्य नेपाली सेनाले सम्पन्न गरेको छ।

करिब ४ हजार २ सय २० मिटर उचाइमा मल्लागिरी पर्वतमा अवस्थित बडीमालिका मन्दिरको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०८१ सालको चैत २८ गतेदेखि सुरु गरिएको पुनर्निर्माण कार्य २०८२ असार २३ गते सम्पन्न भएको हो।

पुनर्निर्माणको सम्पूर्ण अवधिमा श्रद्धालु भक्तजनको लागि मन्दिर खुला राखिएको थियो। प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधनसहित) अन्तर्गत पुरातत्त्व विभागको स्वीकृत नक्सा तथा प्राविधिक परामर्शमा परम्परागत सामग्री प्रयोग गरी मौलिक स्वरूपमा मन्दिर पुनर्निर्माण गरिएको हो।

यस कार्यमा रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, त्रिवेणी नगरपालिका, बडीमालिका नगरपालिका, मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्याय, भक्तपुर तथा ललितपुरका दक्ष कालीगढहरू र स्थानीयवासीको सक्रिय सहयोग रहेको थियो। विकट भूगोल, प्रतिकूल मौसम र सामग्री ढुवानीको चुनौती हुँदाहुँदै करिब दुई महिनामा मन्दिर पुनर्निर्माण सम्पन्न गरिएको हो।

बडीमालिका मन्दिर हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिन्छ। प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन सुदूरपश्चिमका नौवटै जिल्लाबाट झन्डै १० हजारभन्दा बढी श्रद्धालु मन्दिर पुग्ने गर्दछन्।

मेलापर्व, दर्शन तथा प्राकृतिक सौन्दर्यको आकर्षणले गर्दा बडीमालिका क्षेत्र सुदूरपश्चिमकै प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्य बनेको छ।

 


प्रकाशित : बिहीबार , असार २६ २०८२१२:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend