बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

रसुवागढी बाढीले ८१ प्रतिशत निर्माण सम्पन्न भएको सुक्खा बन्दरगाहमा ठूलो क्षति, नेपाल-चीनबीच सडक सम्पर्कविच्छेद

बिहीबार , असार २६ २०८२
रसुवागढी बाढीले ८१ प्रतिशत निर्माण सम्पन्न भएको सुक्खा बन्दरगाहमा ठूलो क्षति, नेपाल-चीनबीच सडक सम्पर्कविच्छेद

चीनको २ अर्ब १६ करोड ६० लाख रूपैयाँ अनुदानमा निर्माण भइरहेको टिमुरे सुक्खा बन्दरगाह पछिल्ला वर्षमा नेपाल–चीन व्यापारको केन्द्र बन्दै आएको थियो।

काठमाडौं- चिनियाँ अनुदान सहयोगमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा ठूलो क्षति पुगेको छ। मंगलबार बिहान चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीका कारण बन्दरगाहको संरचना भत्किएको छ भने नेपाल-चीनलाई जोड्ने मितेरी पुलसमेत पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

८१ प्रतिशत भौतिक प्रगति भइसकेको बन्दरगाह आगामी फागुनमा चिनियाँ पक्षले नेपाललाई हस्तान्तरण गर्ने तयारीमा थियो। तर अब हस्तान्तरण समयमै नहुने निश्चितजस्तै भएको छ। पुनर्निर्माण कहिले र कसरी अघि बढ्ने भन्ने विषयमा समेत अन्योल छ।

बाढीमा नेपाली र चिनियाँ कामदारसहित १८ जना बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय, रसुवाले दिउँसो जारी गरेको विज्ञप्तिअनुसार बेपत्तामध्ये सुरक्षाकर्मीसमेत छन्। नेपालगञ्ज प्रहरी तालिम केन्द्रबाट खटिएका प्रहरीहरु बाढीमा परेका हुन्।

ल्हेन्दे खोलामा आएको आकस्मिक बाढीले मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट हुने चीनसँगको सडक सम्पर्कसमेत टुटेको छ। चीनको २ अर्ब १६ करोड ६० लाख रूपैयाँ अनुदानमा निर्माण भइरहेको टिमुरे सुक्खा बन्दरगाह पछिल्ला वर्षमा नेपाल-चीन व्यापारको केन्द्र बन्दै आएको थियो। अब रसुवा नाका अवरुद्ध भएपछि वैकल्पिकरुपमा तातोपानी नाका सक्रिय हुने देखिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बाढीले बन्दरगाहमा प्रारम्भिक रूपमा मात्रै ८० करोड रूपैयाँभन्दा बढीको क्षति पुर्‍याएको छ। ४०० मिटरको रिटेनिङ वाल बगिसकेको छ भने बेचिङ प्लान्ट, गोदाम, पार्किङ क्षेत्र र अन्य संरचनामा समेत क्षति पुगेको उनले बताए। ‘हालसम्म निर्माण भइसकेका करिब ६० प्रतिशत संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन्,’ गजुरेलले भने, ‘बाढीपछि चीनसँग पुनर्निर्माणबारे औपचारिक छलफल भएको छैन।’

हाल निर्माण भइरहेको स्थानमै पुनः बन्दरगाह बनाइने जानकारी दिँदै गजुरेलले भने, ‘खोलाको किनारमै भए पनि वैकल्पिक ठाउँ छैन।’

सन् २०१४ मा नेपाल र चीनबीच सुक्खा बन्दरगाह निर्माणका लागि समझदारीपत्र (एमओयू) भएको थियो। त्यसपछि सन् २०१५ मा डिजाइन तयार गरिएको थियो भने चिनियाँ कम्पनी टिवेट फुली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले २०२२ डिसेम्बरदेखि काम थालेको थियो।

सुरुमा सन् २०२५ जुनसम्म बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य थियो, तर निर्माणको ढिलाइका कारण समय थपिएको थियो । बाढीले थप क्षति गरेपछि अब यो समयसीमा पुनः धकेलिने भएको छ।

उक्त सुक्खा बन्दरगाह २ हजार ८० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। प्रस्तावित योजनाअनुसार ५ हजार वर्गमिटरमा प्रशासकीय भवन र ७५० वर्गमिटरमा गोदाम निर्माण हुने, ३५० कन्टेनर अट्ने पार्किङ रहने र दुईवटा जाँचपास बिन्दु हुनेछन्।

नेपाल-चीन व्यापारको प्रमुख नाका तातोपानी बाढीपछि लामो समय बन्द भएपछि व्यापार रसुवागढीमा सरेको थियो। तर, अब रसुवामा बन्दरगाह निर्माणका साथसाथै सिधा सडक सम्पर्कसमेत टुटेपछि पुनः तातोपानी नाका सञ्चालनमा ल्याउने सम्भावना बढेको छ।

चीनको सहयोगमा मुस्ताङको कोरला नाकामा पनि इन्टेग्रेटेड चेक पोस्ट निर्माणाधीन छ। तर तत्कालका लागि नेपाल-चीन व्यापारलाई सहज बनाउन तातोपानी विकल्प बनाउने गरी सरकारले गृहकार्य अगाडि बढाएको छ।


प्रकाशित : बिहीबार , असार २६ २०८२१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend