बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सहकारी क्षेत्रमा देखिएका समग्र समस्या शीघ्र समाधान हुन्छ : मन्त्री अधिकारी

बुधबार, असार २५ २०८२
सहकारी क्षेत्रमा देखिएका समग्र समस्या शीघ्र समाधान हुन्छ : मन्त्री अधिकारी

जसले सहकारीलाई बिगार्‍यो उसले नै अहिले सहकारीको हिमायती बनेर प्रचार गर्ने पनि गरिएको छ, त्यसकारण यी सबै कुरामा सजग हुनुपर्छ।'

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या यथाशीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज यहाँ ‘कर्जा असुली न्यायाधीकरण’ कार्यालयको उद्घाटन गर्दै उनले सहकारीसम्बन्धी पर्याप्त ऐन/कानून र नीति भए पनि कार्यान्वयनको विषयमा केही कमीकमजोरी भएको स्वीकार गर्दै अधिकांश सहकारीको समस्या समाधान गर्ने क्रममा सरकार रहेको उल्लेख गरे।

उनले २३ वटालाई समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरिएको जनाउँदै केही दिनभित्र अरु केही सहकारीलाई पनि समस्याग्रस्त सहकारी घोषणा गर्ने तयारी भइरहेको बताए। समस्याग्रस्त २३ सहकारीमध्ये तीनवटा सहकारीको समस्या समाधान भइसकेको भन्दै दुईवटाको पनि शीघ्र समस्या समाधान हुने मन्त्री अधिकारीको भनाइ छ।

उनले भने, 'सहकारी क्षेत्रमा केही कमीकमजोरी भएका छन्, तर ती कमजोरीलाई देखाएर यो क्षेत्रलाई बदनाम गर्ने काम कसैले गर्नुहुँदैन। सहकारी बिग्रियो भन्ने भाष्य बनाउँदै अपभ्रम फैलाएर आफ्नो फाइदा लिने काम कसैले गर्नुहुँदैन, जसले सहकारीलाई बिगार्‍यो उसले नै अहिले सहकारीको हिमायती बनेर प्रचार गर्ने पनि गरिएको छ, त्यसकारण यी सबै कुरामा सजग हुनुपर्छ।'

सहकारी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन गर्दै सन्तुलन, नियन्त्रण, अनुगमन, प्रवर्द्धन र व्यवस्थापन गर्ने विषयमा कमीकमजोरी हुँदा सहकारी क्षेत्रका सञ्चालकले मनपरी गरिरहेका मन्त्री अधिकारीको भनाइ छ। 'सहकारीमा केही समस्या आए भनेर सबै सकियो भन्नुहुँदैन, सहकारी क्षेत्रमा उदासिनता र निराशा देखिएको छ, त्यसलाई सहकार्य र समन्वयमार्फत सकारात्मक पहल गर्दै जानुपर्छ', उनले भने।

बचत सुरक्षण कोषलाई शीघ्र अगाडि बनाउने मन्त्री अधिकारी प्रतिबद्धता व्यक्त गरे। उनले भने, 'सुरुमा सहकारी क्षेत्र सानो रूपबाट सुरु भएको थियो, काम गर्दै जाँदा अहिले देशव्यापी विस्तार भएको छ, सहकारीलाई सरकारले तीन खम्बामध्ये एक खम्बाका रूपमा स्वीकार गरेको छ। त्यसलाई व्यवस्थापन गर्दै कार्यान्वयनको चरणका सरकार छ।'

सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्माले कर्जा असुली न्यायाधीकरणले सहकारी क्षेत्रमा देखिएका समग्र समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : बुधबार, असार २५ २०८२१५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend