बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

दाउन्नेमा पहिरो जाँदा नारायणघाट-बुटवल सडक अवरुद्ध

बुधबार, असार २५ २०८२
दाउन्नेमा पहिरो जाँदा नारायणघाट-बुटवल सडक अवरुद्ध

पहिरो हटाउनका लागि सडक योजनाका कर्मचारी, प्रहरी तथा सुरक्षाकर्मी खटिएका छन्।

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवलखण्डको दाउन्नेमा पहिरोले सडक बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

गए रातिदेखि परेको वर्षाका कारण दाउन्ने नजिक बर्दघाट-४ खुर्सानी खोलामा आएको पहिरोले सडकको केही भाग बगाउँदा आज बिहानबाट राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार पहाडमाथिबाट पहिरो खस्दा सडकको केही भागसमेत बगेको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु१क ५८२७ नम्बरको मालवाहक ट्रक पहिरोका कारण सडकको बीचमा फसेको उनले बताए। 'पहिरोले ट्रकसमेत केही पुरिएको छ, केही सडक बगेको छ, केही सडक चर्किएको अवस्थामा छ', उनले भने, 'अहिले पानी पर्न बन्द भएका कारण स्काभेटर प्रयोग गरेर पहिरोमा फसेको ट्रक निकाल्ने र पहिरो सफा गर्ने काम सुरु भएको छ।'

सडकमा करिब ५० मिटर पहिरो खसेको पन्तले बताए। पहिरो हटाउनका लागि सडक योजनाका कर्मचारी, प्रहरी तथा सुरक्षाकर्मी खटिएको उनको भनाइ छ। चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य बर्सा हुँदा यातायात अवरुद्ध हुने गरेको छ। रासस


प्रकाशित : बुधबार, असार २५ २०८२१३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend