बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बुधबार, असार २५ २०८२
गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमै रहेकाले देशभर बदली र वर्षाको क्रम यथावत् रहने महाशाखाको पूर्वानुमान छ।

आज दिउँसो वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने जनाइएको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

महाशाखाले सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्ने, बाढी, पहिरो तथा गेग्य्रान बहावको जोखिम रहन सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै, डुबानको जोखिम उच्च रहेको सहरी तथा तराई क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

वर्षाको प्रभावले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, सडक यातायात तथा आन्तरिक उडानमा समेत असर पर्ने सम्भावना रहेकाले पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरिएको महाशाखाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असार २५ २०८२०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend