बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

रसुवा बाढी : २३ मालवाहक कन्टेनरसहित ६४ वटा सवारीसाधन बगे, तीन जलविद्युत आयोजनामा क्षति

बेपत्ता नागरिकको संख्या २० पुग्यो

मंगलबार, असार २४ २०८२
रसुवा बाढी : २३ मालवाहक कन्टेनरसहित ६४ वटा सवारीसाधन बगे, तीन  जलविद्युत आयोजनामा क्षति

बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्णरूपमा बन्द भएको छ।

रसुवा- गएरातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिसहितको थप विवरण सार्वजनिक भएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, ६ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन्।

यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन्। तीमध्ये नेपाल प्रहरीका तीनजना, सुक्खा बन्दरगाहमा काम गर्ने ६, डिब्बा चालक पाँच र चिनियाँ नागरिक ६ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्णरूपमा बन्द भएको छ। 

यसैगरी, २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्णरूपमा बन्द छ। यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

साथै माथिल्लो त्रिशूली ‘ए’ को ६० मेगावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। अन्य क्षतिको विवरण प्राप्त भएको छैन।

यसैबीच नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई  सुरक्षित ठाउँमा उद्धार गरेको पनि सहप्रजिअ अधिकारीले बताए।

'ल्हेन्दे खोलाको मितेरी पुल बगाउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ। १० मिटर चौडाइ र १०० मिटर लम्बाइको रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन्। रसुवागढीबाट करिब ८० कोषमाथि छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोले क्षति पुर्‍याएको अनुमान छ', उनले भने। रासस


प्रकाशित : मंगलबार, असार २४ २०८२१८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend