बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नेपाल-चीन व्यापार नाका डुबानमा परेपछि उद्योग वाणिज्य महासंघको गहिरो चिन्ता, तत्काल उद्धार र सहयोगको माग

मंगलबार, असार २४ २०८२
नेपाल-चीन व्यापार नाका डुबानमा परेपछि उद्योग वाणिज्य महासंघको गहिरो चिन्ता, तत्काल उद्धार र सहयोगको माग

महासंघले बाढीपहिरो प्रभावितहरूको तत्काल उद्धार तथा जोखिममा रहेका बासिन्दाहरूको सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रहसमेत गरेको छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले रसुवा जिल्लास्थित नेपाल-चीन सीमामा मंगलबार बिहान गएको बाढी र पहिरोबाट भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। महासंघले बाढीपहिरो प्रभावितहरूको तत्काल उद्धार तथा जोखिममा रहेका बासिन्दाहरूको सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रहसमेत गरेको छ।

महासंघद्वारा जारी विज्ञप्तिमा रसुवागढीको सुक्खा बन्दरगाह क्षेत्रमा रहेका इलेक्टिक तथा मालवाहक सवारीसाधन बगाएको, भौतिक संरचनामा क्षति पुगेको र नेपाल-चीनबीचको मुख्य व्यापारिक मार्ग नै प्रभावित बनेको उल्लेख छ।

बाढीपहिरोको प्रत्यक्ष असरका विषयमा रसुवा उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, कन्टेनर ढुवानी संघ र नेपाल स्वतन्त्र यातायात मजदुर संघका प्रतिनिधिहरूले महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठलाई भेट गरी क्षतिको विवरण बुझाएका थिए। उनीहरूले तत्काल राहत तथा पुनःस्थापनाका लागि सरकार समक्ष पहल गर्न महासंघलाई अनुरोध गरेका छन्।

महासंघले गृह मन्त्रालय र चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावाससँग आवश्यक समन्वय तथा सहयोग गर्न आग्रह गरेको छ। चीनतर्फ फसेका नेपाली नागरिकहरूको कूटनीतिक पहलमार्फत उद्धार गर्न र नेपालतर्फ उद्धार कार्यलाई तीव्रता दिनसमेत महासंघले सरकारसँग माग गरेको छ।

महासंघले वर्षायाममा पहिरो र बाढीको जोखिम उच्च हुने भन्दै समस्त उद्यमी व्यवसायीहरूलाई सचेत रहन र सुरक्षितरूपमा व्यापार व्यवसाय सञ्चालन गर्न अपिलसमेत गरेको छ।


प्रकाशित : मंगलबार, असार २४ २०८२१७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend