बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

अन्तर्राष्ट्रिय बजारमा आयुर्वेदिक औषधि निर्यातलाई सहज बनाउन ‘जीएमपी’ प्रमाणपत्र दिइने

मंगलबार, असार २४ २०८२
अन्तर्राष्ट्रिय बजारमा आयुर्वेदिक औषधि निर्यातलाई सहज बनाउन ‘जीएमपी’ प्रमाणपत्र दिइने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीएमपी प्रमाणपत्र दिने व्यवस्था सम्बन्धी मापदण्ड स्वीकृत गरेका हुन्।

काठमाडौं- नेपाली आयुर्वेदिक तथा परम्परागत औषधि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने उद्देश्यले कुशल उत्पादन अभ्यास (जीएमपी) प्रमाणपत्र दिने मापदण्ड स्वीकृत गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीएमपी प्रमाणपत्र दिने व्यवस्था सम्बन्धी मापदण्ड स्वीकृत गरेका हुन्।

नेपालमा विभिन्न कम्पनीहरू आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीका औषधि उत्पादन गर्दै आए पनि हालसम्म ती औषधि अन्तर्राष्ट्रिय बजारमा वैधानिक रूपमा निर्यात गर्न जीएमपी प्रमाणपत्रको व्यवस्था थिएन।

औषधि उत्पादन कुशल अभ्यासको दोस्रो संहिताले यस समस्याको समाधान गर्ने अपेक्षा गरिएको छ। यो संहिताअनुसार उत्पादकहरूले उत्पादन प्रक्रिया, भण्डारण, गुणस्तर परीक्षण, आधुनिक प्रविधिको प्रयोगलगायतका मापदण्डहरू पूरा गर्नुपर्नेछ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले संहिताको मापदण्ड पूरा गर्ने उत्पादकले औषधि व्यवस्था विभागबाट जीएमपी प्रमाणपत्र प्राप्त गर्ने र जसले आयुर्वेद, होमियोप्याथीलगायत औषधिहरूको वैधानिक नियात मार्ग खुलाउने जानकारी दिए।

हालसम्म ‘एलोप्याथिक’ औषधिहरूमा मात्र जीएमपी प्रमाणपत्र प्रदान गरिँदै आएको थियो। परम्परागत औषधिले जीएमपी नपाउँदा विदेश निर्यात गर्न सकिएको थिएन। रासस


प्रकाशित : मंगलबार, असार २४ २०८२१३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend