बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

व्यापार घाटा झन्डै १४ खर्ब

मंगलबार, असार २४ २०८२
व्यापार घाटा झन्डै १४ खर्ब

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११२ प्रतिशत, तीन प्रतिशत र चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मुलुकको कुल व्यापार घाटा झन्डै १४ खर्ब रूपैयाँबराबर पुगेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भइ १३ खर्ब ९७ अर्ब २३ करोड रूपैयाँ बराबर पुगेको छ। कुल वस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भइ १६ खर्ब ४४ अर्ब ८० करोड रूपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आयातमा एक दशमलव आठ प्रतिशतले कमी आएको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव ६ प्रतिशत, १५ दशमलव तीन प्रतिशत र २९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ।

समीक्षा अवधिमा भारतबाट एक खर्ब ६७ अर्ब ३० करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ३७ अर्ब १३ करोड रूपैयाँ बराबरको भएको थियो।

आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कुल वस्तु निर्यात ७७ दशमलव आठ प्रतिशतले वृद्धि भइ दुई खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा तीन प्रतिशतले कमी आएको थियो।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११२ प्रतिशत, तीन प्रतिशत र चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, जुस, तयारी पोसाक, अलैँचीलगायतका वस्तुको निर्यात घटेको छ। रासस


प्रकाशित : मंगलबार, असार २४ २०८२१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend