बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

भैँसीमा नश्ल सुधार गर्न मुर्राको कृत्रिम गर्भाधान सुरु

मंगलबार, असार २४ २०८२
भैँसीमा नश्ल सुधार गर्न मुर्राको कृत्रिम गर्भाधान सुरु

हालसम्म १० हजारभन्दा बढी डोज उत्पादन गरी करिब ५ सय डोज किसानसम्म वितरण गरिसकिएको कार्यालय प्रमुख शिवनाथ महतोले जानकारी दिए।

सिराहा- राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानले भैँसीमा नश्ल सुधार गर्ने उद्देश्यले कृत्रिम गर्भाधान गराउन मुर्रा राँगाको वीर्य उत्पादन र वितरण गर्न थालेको छ। कार्यालयका अनुसार विसं २०८० मङ्सिरमा ल्याइएका राँगाबाट २०८१ सालको जेठदेखि वीर्य उत्पादन सुरु भएको थियो।

हालसम्म १० हजारभन्दा बढी डोज उत्पादन गरी करिब ५ सय डोज किसानसम्म वितरण गरिसकिएको कार्यालय प्रमुख शिवनाथ महतोले जानकारी दिए। उनले भने, 'भारतबाट ल्याइएका मुर्रा जातका पाँच राँगाबाट २०८१ सालको जेठ/असारदेखि वीर्य उत्पादन सुरु गरिएको हो। हाल १० हजारभन्दा बढी डोज उत्पादन भइसकेको छ र करिब ५ सय डोज किसानलाई वितरण गरिएको छ। कोशी र मधेस प्रदेशका अधिकांश जिल्लामा यसको माग उच्च छ।'

उनले थप जानकारी दिँदै भने, 'वीर्य तरल नाइट्रोजनमा सुरक्षित राखी दक्ष जनशक्ति रहेका सरकारी तथा गैरसरकारी पशु सेवा केन्द्रमार्फत वितरण गरिन्छ। हाल यस कार्यालयअन्तर्गतका २३ जिल्लाका २४० स्थानीय तहमा २९० केन्द्र सक्रिय छन् र ८६० तालिमप्राप्त प्राविधिक संलग्न छन्।'

कार्यालय प्रमुख महतोका अनुसार, मुर्रा राँगाको वीर्यको माग कोशी प्रदेशका सुनसरी र उदयपुर तथा मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा अत्यधिक छ। यस्ता मागलाई सम्बोधन गर्न कार्यालयले कोशी, मधेस र बागमती प्रदेशको सिन्धुलीसहित २३ जिल्लामा सेवा विस्तार गरेको छ।

भारतबाट ल्याइएका पाँच मुर्रा राँगाबाट हप्तामा दुई पटक वीर्य निकालिन्छ। गिर र साहिवाल प्रजातिका गाईको प्रजनन पनि सोही कार्यालयमार्फत हुँदै आएको छ। धार्मिक मान्यताअनुसार जुरो भएको गाईको दूधको बढी माग रहेकोले ती प्रजातिको वीर्यको पनि माग उच्च छ।

पशुपालन सुधारका लागि भारत सरकारले नेपाललाई विसं २०८० जेठमा १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने घोषणा गरेको थियो। तीमध्ये पाँचवटा लहान, सातवटा पोखरा र तीनवटा नेपालगञ्जस्थित राष्ट्रिय पशु प्रजनन केन्द्रमा राखिएको थियो। 

सरकारले रैथाने भैँसी प्रजातिको नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा भित्र्याउने पहल गरेको हो। जसले दूध उत्पादनमा वृद्धि हुने विश्वास लिइएको छ। रासस


प्रकाशित : मंगलबार, असार २४ २०८२१३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend