बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

पक्की बनाइयो ७० वर्ष पुरानो माटे सिँचाइ पोखरी

मंगलबार, असार २४ २०८२
पक्की बनाइयो ७० वर्ष पुरानो माटे सिँचाइ पोखरी

पोखरी १६ मिटर लम्बाइ, आठ मिटर चौडाइ र डेढ मिटर उचाइको छ। पोखरीमा दुई लाख २५ हजार लिटर पानी संकलन गर्न सकिन्छ।

स्याङ्जा- यहाँको वालिङ नगरपालिका-१३ कटौँजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ। २०१० सालमा स्थानीयले पानी संकलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो।

गण्डकी प्रदेश सरकारले सिँचाइ प्रयोजनार्थ सो पोखरीलाई आधुनिक तवरले निर्माण गरी पानी संकलन गर्न २० लाख रूपैयाँ बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्राविधिक शिवराज थापाले जानकारी दिए।

'वर्षौँदेखिको पुरानो माटे पोखरीमा पानी संकलन गरेर खेतीपातीमा कृषकले प्रयोग गर्दै आउनुभएको रहेछ,' उनले भने, 'माटे पोखरीमा पानी संकलन गर्दा नअडिने, चुहिएर समस्याबाट सास्ती खेपेका कृषकलाई पोखरी पक्की बनेपछि सहज हुनेछ।'

पोखरी १६ मिटर लम्बाइ, आठ मिटर चौडाइ र डेढ मिटर उचाइको छ। पोखरीमा दुई लाख २५ हजार लिटर पानी संकलन गर्न सकिन्छ। कृषकलाई पानी आवश्यक हुँदा खोल्नका लागि ‘गेटबल’ र दुईवटा शाखा कुलो निर्माण गरिएको छ। पोखरीसँगै खेतमा पानी पुर्‍याउन ६० मिटर कुलो पक्की बनाइएको छ।

कटौँजे सिँचाइ तथा पोखरी व्यवस्थापन उपभोक्ता समितिमार्फत बाउबाजेले निर्माण गरेको पुरानो माटे पोखरीलाई पक्की बनाइ व्यवस्थित गरिएको उपभोक्ता समितिका अध्यक्ष बालप्रसाद डुम्रेले बताए। उनले भने, 'अब पोखरीमा संकलन गरिएको पानी चुहिएर खेर जाने समस्या हुँदैन, खेतीपातीमा पानी लगाउन सहज हुनेछ।'

एक हजार १५० मिटर टाढाको ठूलो खोलामा बाँध बाँधेर पाइपमार्फत पोखरीमा पानी ल्याइएको छ। खोलाबाट पोखरीसम्म पानी ल्याउन वालिङ नगरपालिकाले पटक पटक गरी ११ लाख रूपैयाँ सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष डुम्रेले बताए।

पोखरीमा संकलित पानीले ३५० रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सकिने भएको हो। वर्षौँदेखि सिँचाइ अभावमा खेतीपाती गर्दै आएका कृषक सिँचाइ पोखरी निर्माण भएसँगै हर्षित बनेका छन्। रासस


प्रकाशित : मंगलबार, असार २४ २०८२१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend