बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

रेमिट्यान्सको उत्साहजनक लय कायमै, ११ महिनामै सञ्चितिमा थपियो तीन अर्ब डलर

मंगलबार, असार २४ २०८२
रेमिट्यान्सको उत्साहजनक लय कायमै, ११ महिनामै सञ्चितिमा थपियो तीन अर्ब डलर

कुनै एक महिनामा मुलुकमा भित्रिने रेमिट्यान्स जेठमा हालसम्मकै धेरै अर्थात् एक खर्ब ७६ अर्ब भित्रिएको छ।

काठमाडौं- रेमिट्यान्सको उत्साहजनक लय कायमै हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति बलियो बन्दै गएको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामै मुलुकको वैदेशिक मुद्रा सञ्चिति २२ प्रतिशतले बढेको छ।

गत वर्षको असार मसान्तसम्म १५ अर्ब २७ करोड अमेरिकी डलर सञ्चिति रहेकोमा यो वर्षको जेठसम्म बढेर १८ अर्ब ६५ करोड डलर पुगेको हो। अर्थात् ११ महिनामा तीन अर्ब ३८ करोड डलर सञ्चितिमा थपिएको हो।

यो सञ्चितिले १४.७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने र १७.६ महिनाको वस्तु आयात धान्न पर्याप्त हुनेछ। चालु वर्षको ११ महिनाको आयातको तथ्यांकको आधारमा आगामी महिनाको आयात सक्षमता प्रक्षेपण गरिएको हुन्छ।

सञ्चिति बलियो हुनुका पछाडि मुख्य कारक रेमिट्यान्समा उत्साहजनक लय हो। यो ११ महिनामा गत वर्षको ११ महिनाको तुलनामा रेमिट्यान्स १२.७ प्रतिशतले बढेर ११ अर्ब २५ करोड डलर पुगेको छ। त्यस्तै, नेपाली रूपैयाँमा रेमिट्यान्स १५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब पुगेको छ।

कुनै एक महिनामा मुलुकमा भित्रिने रेमिट्यान्स जेठमा हालसम्मकै धेरै अर्थात् एक खर्ब ७६ अर्ब रूपैयाँ भित्रिएको छ। वस्तु तथा सेवाको आयातले पनि गति लिएको अवस्थामा पनि मुलुकको शोधनान्तर अवस्थामा सुधार कायमै देखिएको छ। मजबुत बाह्य अवस्था संकेत गर्ने तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

११ महिनाको तथ्यांकअनुसार मुलुकको चालु खाता तीन खर्ब ७ अर्ब रूपैयाँले बचतमा रहेको छ। गत वर्षको यही अवधिमा भने दुई खर्ब रूपैयाँले बचतमा रहेको थियो। यो अवधिमा मुलुकको शोधनान्तर अवस्था भने चार खर्ब ९१ अर्ब रूपैयाँले बचतमा छ। गत वर्ष चार खर्ब २५ अर्ब रूपैयाँले बचतमा थियो।

यो अवधिमा सेवा खाताको घाटा भने विस्तारित हुँदै गएको छ। मुलुकले सेवाको आयातमा गर्ने खर्च र सेवाबाट गर्ने आम्दानीबीचको अन्तर फराकिलो हुँदै गएको छ। यो अवधिमा ९७ अर्बले सेवा खाता घाटामा गएको छ।

अर्थात् यो अवधिमा नेपालले निर्यातभन्दा आयातमा धेरै खर्च गरेको छ। पर्यटन आम्दानीमा वृद्धिका बाबजुद घाटा विस्तार भएको हो। सेवा खाताका अधिकांश उपशीर्षक सकारात्मक लयमा हुँदा पनि घाटा विस्तारित भएको हो।


प्रकाशित : मंगलबार, असार २४ २०८२१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend