बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

भोटेकोशीको बाढीले नेपाल-चीन मितेरी पुल बगायो, भन्सार यार्डमा समेत ठूलो क्षति

मंगलबार, असार २४ २०८२
भोटेकोशीको बाढीले नेपाल-चीन मितेरी पुल बगायो, भन्सार यार्डमा समेत ठूलो क्षति

काठमाडौं- चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले रसुवास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ।

बाढीका कारण आज बिहान अन्दाजी ३:१५ बजे रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुल बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

खोलाको बगरनजिक रहेको भन्सार यार्डमा समेत ठूलो क्षति भएको छ। साथै रसुवागढी जलविद्युत् आयोजनाको संरचनामा समेत ठूलो क्षति भएको छ।

चीनबाट नेपालतर्फ मिसिने लेन्दे खोला थुनिएर बनेको आकस्मिक ताल एक्कासि फुट्दा नदीमा अत्यधिक पानी बग्दै आएको बताइएको छ। सोही कारण भोटेकोशी नदीमा जलस्तर एक्कासि बढ्दै बिनाशकारी बाढी आएको हो। 

rasuwa dadi.jpg

बाढीका कारण त्रिशुली नदी करिडोरअन्तर्गतका विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। विशेषगरी १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको छ।

आयोजनाका प्रमुख इन्जिनियर सत्यराम ज्याख्वाका अनुसार बाढीले विद्युत् केन्द्र, बाँध, पानी मार्ग र सुरक्षात्मक संरचनामा क्षति पुर्‍याएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको उनले जानकारी दिए।

हाल प्रभावित क्षेत्रका सुरक्षाकर्मी, आयोजना प्रतिनिधि र स्थानीय प्रशासन उद्धार तथा क्षति मूल्यांकनमा जुटिरहेका छन्।

मौसमविद्हरूका अनुसार अझै अविरल वर्षा हुने सम्भावना रहेकाले भोटेकोशी आसपासका बस्ती तथा पूर्वाधार उच्च जोखिममा छन्।

मितेरी पुल चीनसँगको मुख्य स्थलमार्गीय नाका भएकाले यसको क्षतिले दुई देशबीचको आयात-निर्यात तथा यात्रु ओहोरदोहोरमा समेत असर पर्न छ।


प्रकाशित : मंगलबार, असार २४ २०८२०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend