बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

पश्चिम नेपालका विभिन्न जिल्लामा वर्षा : साना खोलामा आकस्मिक बाढीको सम्भावना

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २४ २०८२
पश्चिम नेपालका विभिन्न जिल्लामा वर्षा : साना खोलामा आकस्मिक बाढीको सम्भावना

आगामी केही घण्टासम्म थप वर्षा जारी रहने पूर्वानुमानका साथ स–साना खोलामा आकस्मिक बहाव तथा बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

काठमाडौं- पश्चिम नेपालका विभिन्न स्थानमा अहिले सक्रिय वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अछाम, कञ्चनपुर, जाजरकोट, सल्यान, रुकुम पूर्व र कैलाली जिल्लामा हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ। आगामी केही घण्टासम्म थप वर्षा जारी रहने पूर्वानुमानका साथ स–साना खोलामा आकस्मिक बहाव तथा बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागका अनुसार अछामको गोपघाट, ओलीगाउँ वर्षामापन केन्द्र तथा आसपासका क्षेत्रमा हाल मध्यम खालको वर्षा भइरहेको छ। उक्त क्षेत्रमा बहने साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै विभागले स्थानियवासी तथा सम्बन्धित निकायलाई सतर्क रहन अनुरोध गरेको छ।

त्यस्तै कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर वर्षामापन केन्द्रमा पनि मध्यम वर्षा मापन भएको छ। विभागले अझै केही समय वर्षा जारी रहने अनुमान गर्दै सतर्कता अपनाउन भनेको छ।

जाजरकोटको डल्ली, रुकुम पूर्वको रुकुमकोट, सल्यानको काभ्रेनेटा र वरपरका क्षेत्रहरूमा समेत हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती स्थानहरूमा पनि थप वर्षाको सम्भावना रहेकोले बाढी तथा पहिरोप्रति सचेत रहनुपर्ने विभागले जनाएको छ।

कैलालीको बचिला वर्षामापन केन्द्र र त्यस आसपासका क्षेत्रमा पनि मध्यम खालको वर्षा मापन गरिएको छ। सो क्षेत्र भएर बग्ने साना खोलामा आकस्मिक बहाव हुनसक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।

विभागले निरन्तरको वर्षाका कारण कमजोर भू–भौगोलिक संरचना भएको क्षेत्रहरूमा पहिरोको जोखिम पनि बढ्न सक्ने बताउँदै वर्षायामभर सचेत रहन सर्वसाधारण, स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायलाई अनुरोध गरेको छ।


प्रकाशित : मंगलबार, असार २४ २०८२०६:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend