बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एसएलआरले ल्याएको मोटरहेडका २५० सीसीका ५३ वटा मोटरसाइकल जफत

बजार मूल्यअनुसार गृहले पायो २ करोड ६२ लाख रुपैयाँको मोटरसाइकल

बिहीबार , असार २६ २०८२
एसएलआरले ल्याएको मोटरहेडका २५० सीसीका ५३ वटा मोटरसाइकल जफत

भन्सार कार्यालयले करिब एक वर्षअघि मोटरहेडका मोटरसाइकल जाँचपास गराउन आयातकर्ता कम्पनीलाई भनेको र आयातकर्ता कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनी नआएपछि जफत प्रक्रियामा गएको थियो।

काठमाडौं- एसएलआर टेक्नो एन्ड ट्रेडले चीनबाट ल्याएको मोटरसाइकल जाँचपास नगराएपछि भन्सारले जफत गरेको छ। सो कम्पनीले ल्याएका मोटरहेड ब्रान्डका मोटरसाइकल तोकिएको समयभित्र जाँचपास नगराएपछि भन्सारले प्रक्रिया पूरा गरेर जफत गरेको हो। 

एसएलआरले चीनबाट आयात गरेको मोटरसाइकल समयमै जाँचपास नगराएपछि भन्सारले पटकपटक सूचना जारी गरेको थियो। त्यसरी सूचना जारी गर्दासमेत आयातकर्ता नआएपछि एकीकृत भन्सार जाँच कार्यालयले उक्त मोटरहेड ब्रान्डका मोटरसाइकल जफत गरेको थियो। 

जफत भएका ती मोटरसाइकल सकारले आफैँ प्रयोग गर्न चाहेको खण्डमा प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ। सोहीआधारमा भन्सार कार्यालयले ५३ वटा मोटरसाइकल गृह मन्त्रालयलाई दिने निर्णय गरेको थियो। साेहीअनुसार गृहले सो मोटरसाइकल दर्ताको प्रक्रिया अघि बढाएको हो। 

चीनबाट एसएलआर टेक्नो एन्ड ट्रेडले एलसी खोलेर व्यापारका लागि ल्याएको मोटरहेडका ५३ वटा मोटरसाइकल किन जाँचपास गराएन त्यो विषयमा केही बाहिर आएको छैन। यसबारेमा प्रतिक्रिया लिन खोज्दा एसजी ग्रुपका निर्देशक सुगम घिमिरेले प्रतिक्रिया दिन चाहेनन्। 

भन्सार कार्यालयले जफत गरेपछि गृह मन्त्रालयले ५३ वटा मोटरसाइकलको इन्जिन र च्यासिस नम्बरसहित त्यसको सम्पूर्ण विवरण मागेर एसएलआर टेक्नो एन्ड ट्रेडलाई पत्र काटेको थियो। यही असारको दोस्रो साता गृहले उक्त विवरण माग गरेको थियो। विवरण प्राप्त भएसँगै मोटरसाइकल दर्ताका लागि यातायात व्यवस्था विभागमार्फत प्रक्रिया अघि बढिसकेको छ। 

भन्सार कार्यालयले करिब एक वर्षअघि मोटरहेडका मोटरसाइकल जाँचपास गराउन आयातकर्ता कम्पनीलाई भनेको र आयातकर्ता कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनी नआएपछि जफत प्रक्रियामा गएको थियो। 

मोटरहेडका विभिन्न ६ मोडलका मोटरसाइकल नेपाली बजारमा बिक्री हुँदै आएको छ। २०२२ मा कम्पनीले नेपालमा उपलब्ध मोटरसाइकलको मूल्य तोकेअनुसार ३ लाख १० हजार रुपैयाँदेखि ४ लाख ९५ हजार रुपैयाँसम्म मूल्य तोकिएको थियो। मोटरहेडका १ सय ५० सीसीदेखि २ सय ५० सीसीसम्मका मोटरसाइकल उपलब्ध थिए। 

गृहले पाएको मोटरहेडको उक्त मोटरसाइकल २  सय ५० सीसी इन्जिन क्षमताको हो भने कम्पनीले तोकेअनुसार एउटा मोटरसाइकलको मूल्य ४ लाख ९५  हजार रुपैयाँ पर्छ। यी मोटरसाइकल २०२२ मा बनेका हुन्। गृहले पाएको ५३ वटा मोटरसाइकलको कम्पनीले तोकेअनुसार बजार मूल्य २ करोड ६२ लाख ३५ हजार रुपैयाँ पर्छ। 

एसएलआर टेक्नो एन्ड ट्रेडर्स व्यवसायी शिवप्रसाद घिमिरेको एसजी ग्रुपअन्तर्गतको कम्पनी हो। 


प्रकाशित : बिहीबार , असार २६ २०८२१७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend