बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

स्वीस परराष्ट्रमन्त्रीद्वारा चौधरी ग्रुपको अवलोकन, युवा सशक्तिकरणमा साझेदारीको प्रशंसा

इन्स्योर कार्यक्रममार्फत सीपयुक्त रोजगारीका लागि चौधरी फाउन्डेसन र स्वीस सरकारबीच सहकार्य

सोमबार, असार २३ २०८२
स्वीस परराष्ट्रमन्त्रीद्वारा चौधरी ग्रुपको अवलोकन, युवा सशक्तिकरणमा साझेदारीको प्रशंसा

स्वीस दूतावासद्वारा सुरु गरिएको इन्स्योर कार्यक्रमले नेपाली युवालाई व्यावसायिक सीप तथा रोजगारीमा प्रवेशका लागि आवश्यक व्यावहारिक तालिम उपलब्ध गराउने लक्ष्य राखेको छ। यसमा निजी क्षेत्रका अग्रसर कम्पनीहरूसँग सहकार्य गर्दै आएको छ।

काठमाडौं- स्वीजरल्याण्डका परराष्ट्रमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिस तथा उच्चस्तरीय प्रतिनिधिमण्डलले चौधरी ग्रुप (सीजी) को केन्द्रीय कार्यालयको सोमबार अवलोकन गरेका छन्।

उक्त भ्रमण सीजी र स्वीस दूतावासबीचको दिगो र लाभदायी रोजगारीका लागि सीप अभिवृद्धि (इन्स्योर) कार्यक्रम’ अन्तर्गतको सहकार्यप्रति उच्च मान्यता प्रदान गर्ने अवसरका रूपमा लिइएको छ।

दिगो र लाभदायी रोजगारीका लागि सीप अभिवृद्धि कार्यक्रम स्वीस सरकारद्वारा समर्थित प्रमुख परियोजना हो। जसले नेपाली युवालाई औद्योगिक क्षेत्रमा प्रत्यक्ष सीप र व्यावहारिक तालिममार्फत रोजगारीका लागि तयार पार्ने उद्देश्य लिएको छ।

सार्वजनिक-निजी साझेदारीमा आधारित यस कार्यक्रममा चौधरी ग्रुपले निजी क्षेत्रको अग्रणी साझेदारका रूपमा भूमिका निर्वाह गर्दै उच्चस्तरीय प्रशिक्षुता तथा अन्तःशिक्षण (इन्टर्नसीप) अवसर प्रदान गर्दै आएको छ।

स्वीस परराष्ट्रमन्त्रीले चौधरी ग्रुपअन्तर्गत इन्स्योर कार्यक्रममार्फत तालिम लिइरहेका युवासँग अन्तरक्रिया गर्दै कार्यक्रमको सफलतालाई प्रत्यक्ष अवलोकन गरे। प्रशिक्षार्थी, प्रशिक्षक तथा कार्यक्रम संयोजकहरूसँग छलफल गर्दै मन्त्रीले कार्यक्रमले युवामा ल्याएको परिवर्तनप्रति चासो र प्रशंसा व्यक्त गरे।

'स्वीस परराष्ट्रमन्त्रीज्यूको भ्रमणले हामीलाई गर्वित बनाएको छ। यसले नेपाली युवाको भविष्य निर्माणमा सीप, उद्योग र अन्तर्राष्ट्रिय सहकार्यको महत्वलाई पुनः पुष्टि गरेको छ,' चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले भने। इन्स्योर कार्यक्रम र स्वीस दूतावाससँगको सहकार्यमार्फत हामीले शिक्षालाई रोजगारीसँग जोड्ने गहिरो प्रयास गरिरहेको समेत बताए।

उक्त भ्रमणले स्वीस सरकारको नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धता, समावेशी विकास र सीप अभिवृद्धिमा लगानीलाई पुनः उजागर गरेको छ। साथै, यसले नेपालको श्रम बजार निर्माणमा निजी क्षेत्रको भूमिकालाई बलियो बनाउने संकेत दिएको छ।

चौधरी ग्रुपको परोपकारी संस्था चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, उद्यमशीलता र विपद् प्रतिरोधजस्ता क्षेत्रमा दीर्घकालीन सामाजिक परियोजना सञ्चालन गर्दै आएको छ। संस्थाले अन्तर्राष्ट्रिय साझेदारीमार्फत समावेशी विकासलाई अघि बढाउने उद्देश्य राखेको छ।

स्वीस दूतावासद्वारा सुरु गरिएको इन्स्योर कार्यक्रमले नेपाली युवालाई व्यावसायिक सीप तथा रोजगारीमा प्रवेशका लागि आवश्यक व्यावहारिक तालिम उपलब्ध गराउने लक्ष्य राखेको छ। यसमा निजी क्षेत्रका अग्रसर कम्पनीहरूसँग सहकार्य गर्दै आएको छ।


प्रकाशित : सोमबार, असार २३ २०८२१८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend