बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

‘कुलिङ पिरियड’ बारे छानबिन गर्न संसदीय विशेष समिति गठन

सोमबार, असार २३ २०८२
‘कुलिङ पिरियड’ बारे छानबिन गर्न संसदीय विशेष समिति गठन

समितिले प्रतिवेदन लेखनलगायत विषयमा देखिएका कमजोरी पत्ता लगाइ भविष्यमा यस्ता प्रकृतिका कमीकमजोरी हुन नदिन के-कस्तो सावधानी वा उपाय अपनाउनुपर्ने हो सो सम्बन्धसमेत समितिले सुझाव पेस गर्नेछ।

काठमाडौं- संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले समितिको घोषणा गरेका हुन्।

प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार, सदस्यहरूमा कांग्रेसका सुशीला थिङ, नेकपा (एमाले) का नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन कार्की रहेका छन्।

समितिले विधेयकका सम्बन्धमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधिसभामा पेस भएको प्रतिवेदनमा र समितिमा भएको छलफल, सैद्धान्तिक सहमति, निर्णय, विद्युतीय अभिलेख (अडियो, भिडियो) भन्दा फरक हुनेगरी ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था उल्लेख भएकाबारे छानबिन गर्नेछ।

संघीय निजामती सेवा विधेयक, २०८० को सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधिसभामा पेस भएको समितिको प्रतिवेदनमा सोसम्बन्धी व्यवस्था मूल विधेयकको व्यवस्थाभन्दा फरक के कति कारणले हुन गएको हो भन्ने विषयमा छानबिन गर्ने समितिलाई कार्यादेश दिइएको छ।

यसैगरी कानूनी तादम्यता नहुनेगरी प्रतिवेदन तयार गर्नेउपर छानबिन गर्ने र समितिबाट तयार भएको प्रतिवेदनमा त्रुटि भएको भन्ने सन्दर्भमा कसको संलग्नता रहेको छ, यकिन गरी त्यस्ता पदाधिकारीलाई कानूनी कारबाही गर्नुपर्ने या नपर्ने विषयमा सुझाव पेस गर्ने भनिएको छ।

प्रतिवेदन लेखनलगायत विषयमा देखिएका कमजोरी पत्ता लगाइ भविष्यमा यस्ता प्रकृतिका कमीकमजोरी हुन नदिन के-कस्तो सावधानी वा उपाय अपनाउनुपर्ने हो सो सम्बन्धसमेत समितिले सुझाव पेस गर्नेछ।

प्रचलित कानूनको अधिनमा रही समितिले आफ्नो कार्यविधि आफै बनाइ काम गर्नेछ। समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्न भनिएको छ। बैठकमा सभामुख घिमिरेले विशेष समिति गठनसम्बन्धी प्रस्तावमा सभाले सहमति गरेको घोषणा गरे। रासस


प्रकाशित : सोमबार, असार २३ २०८२१७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend