बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालियो

सोमबार, असार २३ २०८२
पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालियो

अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ। यहाँ वार्षिक ३० हजार जनाभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन्।

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति सुरु गरेको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले ठेकेदार कम्पनीले सडक स्तरोन्नतिका लागि फराकिलो बनाउने काम थालेको बताए। विसं २०८१ कात्तिक १४ गते दुई करोड २३ लाख ९६ हजार रूपैयाँमा विकेश जय दुप्चे जेभीले ठेक्का सम्झौता गरेको थियो। 

चालु आर्थिक वर्षमा ७० लाख रूपैयाँ विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७५ लाख रूपैयाँ विनियोजन गरेको छ। यो योजनामार्फत चित्रेदेखि घोडेपानीसम्म चार किलोमिटर दुरीमा फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार गर्ने, नाली र टेवा पर्खाल बनाएर सडकलाई ग्राभेल गरिने भएको छ। 

विसं २०७५ मा गण्डकी प्रदेश सरकारको बजेटबाट मार्ग खुलेको सडक सात वर्षपछि स्तरोन्नति थालिएको हो। सडक सहज भएपछि घोडेपानी-पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने घोडेपानीका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले बताए। 

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक संघीय सरकारमार्फत गतवर्ष स्तरोन्नति भएको थियो। म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा तीन करोड रूपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाइएको हो। 

विसं २०८० मङ्सिर दोस्रो हप्ता घोडेपानीमा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समीक्षा कार्यक्रममा सहभागी हुन आएका प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको प्रस्तावमा चित्रे घोडेपानी सडक स्तरोन्नति गर्न वर्ष बहुवर्षीय ठेक्का प्रक्रिया सुरु गर्ने घोषणा गरेका थिए।

कास्कीको नयाँपुल, तिखेढुंगा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना छ। अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ। यहाँ वार्षिक ३० हजार जनाभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन्। रासस


प्रकाशित : सोमबार, असार २३ २०८२१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend