बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

आइतबार, असार २२ २०८२
तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका छन्।

डडेल्धुरा- विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन्। गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन्।

यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रिन थालेका छन्। तामाको भाँडाको सट्टामा स्टिल, प्लास्टिकका भाँडाको प्रयोग बढ्दो छ। अमरगढी नगरपालिका-६ छचोडाका लक्ष्मी टमाटाको घरमा कुनै समय नयाँ भाँडा बनाउने, पुरानो तामाका भाँडालाई नयाँस्वरुप र शैलीमा फरक किसिमको बनाउने गरिन्थ्यो। आजभोलि कारोबार सुनसान बनेको उनले बताए।

आफूलाई धातुका र तामाका आकर्षक भाँडाकुँडा बनाउने सीप भए पनि यसले बजार नपाउँदा नासिने अवस्थामा पुगेको टमाटाको गुनासो छ। बजारमा नयाँ तथा आर्कषक भाँडाले कब्जा जमाएसँगै तामा र फलामबाट बनेका भाँडाकुँडाले बजार पाउन नसकेको उनले उल्लेख गरे।

'यो क्षेत्रमा अधिकांशले तामाका भाँडा बनाएर जीविकोपार्जन गर्दथे, यतिखेर स्टिल र प्लास्टिकका भाँडाको प्रयोगले व्यवसाय लोप हुँदै गएको छ', टमाटाले भने। आधुनिक उपकरणद्वारा निर्मित सामग्री बजारमा आउन थालेपछि प्रतिस्पर्धा गर्न नसक्नु, तामाका सामग्रीको उपयोग कम हुँदै जानुलगायत कारणले गर्दा विस्थापित हुन पुगेको उनको भनाइ छ। 

स्थानीय प्रविधिको उपयोग गरी निर्मित अमखोरा, तमौरा, गाग्री, मानालगायत वस्तु अहिले लोप हुँदै गएका पुराना आरन व्यवसायी तेजबहादुर ताम्राकारले बताए।

डडेल्धुराको अमरगढी नगरपालिकाका छचोडा, कोटेली, पोखरा आलितालको डोला, गाङखेत, हर्तकालगायत २५ भन्दा बढी ठाउँका आरन व्यवसायीले यही पेसाबाट दैनिकी चलाउने गरेको बताएका छन्। पछिल्लो समय कारोबार घट्दै गएपछि व्यवसाय हराउने जोखिम बढ्नुका साथै विदेश जाने युवाको सङ्ख्या पनि बढ्दै गएको ताम्राकारले बताए।

घरेलु उद्योगभित्र पर्ने भए पनि यस्ता उद्योगलाई निरन्तरता दिन सरोकार भएका निकाय तथगा स्थानीय सरकारबाट पहल नभएको उनले गुनासो गरे। जिल्लालाई तामाका भाँडाका लागि प्रख्यात बनाउन सकिने सम्भावना भए पनि कुनै निकायले संरक्षणका लागि पहल नगर्नु चिन्ताको विषय भएको आरन व्यवसायीको भनाइ छ। रासस


प्रकाशित : आइतबार, असार २२ २०८२१६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend