बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी-मरिणको काम द्रुत गतिमा अगाडि बढाउँछौँ : ऊर्जामन्त्री खड्का

आइतबार, असार २२ २०८२
ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी-मरिणको काम द्रुत गतिमा अगाडि बढाउँछौँ : ऊर्जामन्त्री खड्का

पूर्वाधार विकास समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर काम गर्ने जनाएका हुन्।

काठमाडौं-  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाईभर्सन बहुउदेश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने बताएका छन्।

पूर्वाधार विकास समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर काम गर्ने जनाएका हुन्।

उक्त आयोजनाको टनेल निर्माणको काम सम्पन्न भइसकेको भन्दै उनले बाँकी कामका लागि कार्यतालिका मागेर द्रुत गतिमा अगाडि बढाउन खोजिएको बताए।

‘गत असोजको बाढीका कारण आयोजनामा केही क्षति पुगेको, आर्थिक अभाव भएको, बाढीले क्षति पुर्‍याएको, इन्स्याेरेन्स नपाएको कारण आयोजना केही ढिलाई हुन पुगेको पाइन्छ। हामीले ‘वर्क सेडुल’ मागेका छौँ, नयाँ ठेक्का लगाउँदा पनि धेरै समय लाग्छ, अहिलेकै ठेकेदारबाट काम गराउन लागिपरेका छौँ’ मन्त्री खड्काले भने।

सुनकोशी-मरिण आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन पूर्वाधार समितिबाट उपसमिति बनाएर आयोजनाको बारेमा जानकारी लिँदा आयोजना चाँडो सम्पन्न गर्नका लागि फाइदा पुग्ने उनकाे भनाइ छ। साथै पूर्वाधार समितिमा छलफलका क्रममा रहेका विद्युत विद्येयक २०८० र नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विद्येयकलाई सँगै अगाडि बढाएर पास गर्न समितिले तदारुकता देखाउन ऊर्जामन्त्री खड्काले आग्रह गरेका छन्।

‘कुनै एक विद्येयकलाई अगाडि बढाएर अर्को विद्येयक रोक्नुपर्छ भन्ने छैन, दुबै विद्येयकलाई टुंग्याउँ भन्ने हो’ उनले भने। लामो समयदेखि थाती रहेको डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विद्युत बक्यौता उठाउनका लागि समिति बनाएर छानबिन गरिरहेको बताए। प्रयोग गरेको विद्युतको बिल कुनै हालतमा तिर्नुपर्ने मन्त्री खड्काको भनाई थियो।

ऊर्जामन्त्री खड्काले बजेटमा आएको टेक एण्ड पे को व्यवस्था परिमार्जन भइसकेको बताउँदै यससम्बन्धमा भ्रममा नपर्न आग्रह गरे। जलस्रोत विद्येयकका सवालमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उक्त विद्येयकका बारेमा प्रधानमन्त्री र मन्त्रीहरुले चासो राख्नु स्वभाविक भएको बताएका छन्।

उक्त विद्येयक राष्ट्रिय सभामा पुगेकाले सो विद्येयक चाँडो राष्ट्रिय सभामा पेश हुने बताए। जलस्रोत विद्येयक समितिबाट पास गरेर प्रतिनिधीसभामा पठाउनु पूर्वाधार समिति, मन्त्रालय र सरकारको ठूलो उपलब्धी भएको मन्त्री खड्काको भनाइ छ। 


प्रकाशित : आइतबार, असार २२ २०८२१५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend