बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षाअघि नै बाँध निर्माण हुन्छ : गृहमन्त्री लेखक

आइतबार, असार २२ २०८२
महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षाअघि नै बाँध निर्माण हुन्छ : गृहमन्त्री लेखक

'अब बजेट अभावले बाँध निमार्ण कार्य रोकिँदैन, बस्ती जोगाउन सरकारले चाहिने जति बजेट व्यवस्थापन गर्छ', उनले भने।

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निमार्ण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताएका छन्।

आज कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको अनुगमन गर्दै उनले बाढीका कारण वर्षौँदेखि नदी किनारका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर सेनालाई जिम्मा दिएको बताए।

मन्त्री लेखकले भने, 'महाकाली किनारका बस्ती वर्षौँदेखि बाढीको जोखिममा छन्। यसैकारण ती बस्ती जोगाउन गृह मन्त्रालयले सेनासँगको समन्वयमा काम अगाडि बढाएको हो। अब बजेट अभावले बाँध निमार्ण कार्य रोकिँदैन, बस्ती जोगाउन सरकारले चाहिने जति बजेट व्यवस्थापन गर्छ।'

गत वर्ष महाकालीको बाढीले दुईसय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्तीतर्फ सोझिएको थियो। यसले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर काम अघि बढाएको हो।

गृहमन्त्री लेखकले महाकाली नदीका कारण यहाँ बनेको चार लेन पुल र बस्ती नै जाखिममा परेपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको बाँध निर्माणको जिम्मा सेनालाई दिइएको बताए। 'सरकारले नदी नियन्त्रण तथा संरक्षणका लागि विशेष प्राथमिकताका साथ बाँध निर्माण गरिरहेको छ। अब स्थायीरूपमा समस्या समाधान हुनेगरी काम हुन्छ', उनले भने।

गृहमन्त्री लेखकले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशनसमेत दिए। यहाँ गत जेठ ६ गतेको निर्णयअनुसार सेनालाई एक महिनामा बाँध निर्माण गर्ने गरी जिम्मेवारी दिइएको थियो। रासस


प्रकाशित : आइतबार, असार २२ २०८२१४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend