बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

एसियन राजमार्गअन्तर्गत बिर्तामोड-चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ को काम ४५ प्रतिशत सम्पन्न

आइतबार, असार २२ २०८२
एसियन राजमार्गअन्तर्गत बिर्तामोड-चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ को काम ४५ प्रतिशत सम्पन्न

हालसम्म सिंगल लेनको काम ६० प्रतिशत र डबल लेनको ३५ प्रतिशत काम पूरा भइसकेको आयोजना कार्यालयले जनाएको छ।

झापा- एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड-चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ।

राजमार्ग आयोजनाअन्तर्गत कोशी प्रदेशमा एकमात्र एलिफेन्ट क्रसिङ निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजनाका इन्जिनियर आश्रय महतले जानकारी दिए। उनका अनुसार यो क्रसिङ आयोजना वन्यजन्तुको सुरक्षालाई ध्यानमा राखी निर्माण थालिएको हो। हालसम्म सिंगल लेनको काम ६० प्रतिशत र डबल लेनको ३५ प्रतिशत काम पूरा भइसकेको आयोजना कार्यालयले जनाएको छ।

गत जेठमा आएको बाढीले डाइभर्सन संरचना बगाएपछि अहिले ठूलो ह्यामपाइप प्रयोग गरी पुनः डाइभर्सन निर्माण गरिएको आयोजनाका प्रमुख इन्जिनियर सुनिलबाबु पन्तले जानकारी दिए। उनका अनुसार डाइभर्सन मर्मतपछि निर्माण सुचारु गरिएको हो। 

'१५ मिटर लम्बाइ र ६ दशमलव पाँच मिटर उचाइ रहेको यो क्रसिङ संरचनाको निर्माण लागत तीन करोड ३९ लाख ५८ हजार रूपैयाँ रहेको छ। हालसम्म एक करोड ५२ लाख रूपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ', उनले भने।

चाराली क्षेत्र वरिपरि रहेका सामुदायिक वन, नेपाली सेनाको वन संरक्षण इकाइ र खुला सिमाना भएर भारततर्फबाट आउने जंगली जनावरहरूको आवागमनका कारण यो क्षेत्र वन्यजन्तु-मानव द्वन्द्वको उच्च जोखिममा परेको छ।

पछिल्ला केही वर्षयता हात्ती, चितुवा र बाघको आक्रमणबाट ३० जनाको ज्यान गइसकेको इन्जिनियर पन्तले उल्लेख गरे। उनका अनुसार हात्तीको आक्रमणबाट मात्रै झापा र मोरङका बस्तीमा ठूलो जनधनको क्षति पुगेको छ।

जिल्लास्थित डिभिजन वन कार्यालयका अधिकृत ऋषि तिम्सिनाका अनुसार मेचीनगर, अर्जुनधारा, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रमा बाँदर र हात्तीको समस्या रहँदै आएको छ भने उत्तरी झापामा चितुवा र बाघको आतंक देखिएको छ।

स्थानीयवासी तथा वन अभियन्ताहरूका अनुसार यस प्रकारको संरचनाले वन्यजन्तुका लागि सुरक्षित मार्ग सुनिश्चित गर्न सहयोग गर्नेछ। बिर्तामोड-७ का वन अभियन्ता बद्री प्याकुरेलले हात्ती जोगाउन विगतमा लगाइएका ‘फेन्सिङ’ तारहरू पूर्ण प्रभावकारी नदेखिएको बताए। उनले सभामुख देवराज घिमिरेको पहलमा लगाइएको तारले केही हदसम्म काम गरे पनि हालको समस्या समाधान गर्न अझ प्रभावकारी संयन्त्र आवश्यक रहेकामा जोड दिए।

चाराली क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी बद्री महतले राजमार्ग दुवैतर्फ सामुदायिक वन रहेकाले वन्यजन्तुको सहज आवागमनका लागि एलिफेन्ट क्रसिङ अत्यन्त उपयोगी हुने धारणा राखे। उनले भने, 'यो संरचनाले वन्यजन्तुको सुरक्षा मात्र होइन, मानवीय क्षति न्यूनीकरणमा पनि योगदान पुर्‍याउने विश्वास छ।'

हात्ती अभियन्ताका रूपमा परिचित बाहुनडाँगीका अगुवा अर्जुन कार्कीले हात्तीको आक्रमणलाई द्वन्द्वका रूपमा मात्र हेर्न नहुने बताउँदै वन्यजन्तुको संरक्षण र व्यवस्थापनमार्फत समुदायमा रोजगारी र आम्दानी सृजना गर्ने सम्भावनालाई पनि ध्यानमा राख्नुपर्नेमा जोड दिए। उनले खुल्ला सिमानाबाट नेपाल प्रवेश गर्ने हात्तीहरूको उचित व्यवस्थापन गर्न तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिए।

एसियन राजमार्गअन्तर्गत निर्माणाधीन उक्त एलिफेन्ट क्रसिङले दीर्घकालीन रूपमा वन्यजन्तु व्यवस्थापन र पूर्वी झापा क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। रासस


प्रकाशित : आइतबार, असार २२ २०८२१४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend