बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा : ट्रम्पसँगको दूरी बढेपछि नयाँ राजनीतिक मोर्चा

आइतबार, असार २२ २०८२
एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा : ट्रम्पसँगको दूरी बढेपछि नयाँ राजनीतिक मोर्चा

विश्वकै सबैभन्दा धनी उद्यमी एलन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल गठन गरेको घोषणा गरेका छन्। ‘अमेरिका पार्टी’ नाम दिइएको उक्त दलले अमेरिकी जनतालाई स्वतन्त्रता फिर्ता दिने दाबी मस्कले गरेका छन्।

वासिङ्टन- विश्वको सबैभन्दा धनी उद्यमी एलन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल गठन गरेको घोषणा गरेका छन्। ‘अमेरिका पार्टी’ नाम दिइएको उक्त दलले अमेरिकी जनतालाई स्वतन्त्रता फिर्ता दिने दाबी मस्कले गरेका छन्।

शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मस्कले भनेका छन्, '२ देखि १ को अनुपातमा तपाईंहरू नयाँ राजनीतिक पार्टी चाहनुहुन्छ, र तपाईंहरूले त्यो पाउनुहुनेछ।'

नयाँ दलको घोषणा मस्कले शुक्रबार गरेका एक सर्वेक्षणपछि आएको हो, जसमा उनले आफ्ना फलोअर्ससँग ‘अमेरिका पार्टी’ गठनको पक्षमा हो कि होइन भनेर सोधेका थिए। जनमत स्पष्ट रूपमा पक्षमा आएपछि मस्कले आफ्नो कदम सार्वजनिक गरेको सीएनबीसी न्युजले जनाएको छ ।

उनले पार्टीका उम्मेदवारहरू अमेरिकाको सिनेटका दुई वा तीन सिट र प्रतिनिधिसभाका आठदेखि १० सिटमा केन्द्रित हुने बताएका छन्। अमेरिकी संसदमा विवादास्पद कानुन पारित गर्ने क्रममा देखिने अत्यन्त सानो मतान्तरको सन्दर्भ दिँदै उनले नयाँ दल निर्णायक मतदाताको रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरेका छन्।

तर मस्कले पार्टी कहाँ दर्ता गरिएको हो भन्ने खुलाएका छैनन्। संघीय निर्वाचन आयोग (एफईसी) मा हालसम्म ‘अमेरिका पार्टी’ दर्ता भएको कुनै विवरण देखिएको छैन।

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा मस्क सबैभन्दा ठूलो दातामध्ये एक थिए। उनले २८० मिलियन डलरभन्दा बढी चन्दा दिएका थिए, जसको ठूलो हिस्सा डोनाल्ड ट्रम्प र अन्य रिपब्लिकन उम्मेदवारहरूलाई गएको थियो। तर पछिल्लो समय ट्रम्पसँग मस्कको सम्बन्ध बिग्रिएको छ। दुई जनाबीच सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप चलेको थियो, जसको मूल कारण ट्रम्पले अगाडि सारेको 'बिग ब्युट्युफुल बिल' नामक विवादास्पद नीतिगत प्याकेजमा मस्कले दिएको विरोध थियो। 

ट्रम्प सरकारको दोस्रो कार्यकालको सुरुमा उनीहरू निकट सहयोगी थिए। मस्कले सरकारी खर्च कटौती गर्न बनाइएको डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसेन्सी  मा समेत काम गरेका थिए। तर मे महिनामा उनको विशेष सरकारी सल्लाहकारको कार्यकाल समाप्त भएपछि उनी त्यस भूमिकाबाट बाहिरिएका थिए।

उनले नयाँ पार्टी कुनै पनि विद्यमान दलसँग नजोडिने, तर दुबै पक्षसँग संवाद गर्न तयार रहने बताएका छन्।

राजनीतिक वृत्तमा मस्कको नयाँ पार्टीको प्रभावबारे चासो बढेको छ। एकजना सर्वाधिक चर्चित र प्रभावशाली व्यवसायीले सक्रिय रूपमा तेस्रो शक्ति निर्माणको प्रयास गर्नु अमेरिकी राजनीतिमा ठूलै मोडको संकेतका रूपमा हेरिएको छ।


प्रकाशित : आइतबार, असार २२ २०८२०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend