बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

कांग्रेसले अब आर्थिक नीतिको स्पष्ट बाटो देखाउनुपर्ने बेला आएको छ : प्रा डा पोखरेल

शनिबार, असार २१ २०८२
कांग्रेसले अब आर्थिक नीतिको स्पष्ट बाटो देखाउनुपर्ने बेला आएको छ : प्रा डा पोखरेल

पोखरेलले पछिल्लो समय पार्टीका नेतृत्वले सरकारमा रहँदा कुनै स्पष्ट आर्थिक एजेण्डा नदेखिएको, बजेटीय अनुशासन कमजोर भएको, र राजस्व संकलन खस्किएकोप्रति चिन्ता व्यक्त गरेका छन्। 'यो त्यही कांग्रेस हो जहाँ महेश आचार्य र डा. रामशरण महत जस्ता आर्थिक सुशासनका हस्ती थिए?,'उनले भने।

काठमाडौं- नेपाली कांग्रेस नेता तथा योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले नेपाली कांग्रेस पार्टी अब स्पष्ट, विश्वासिलो र यथार्थमा आधारित आर्थिक नीतिको दिशातर्फ गम्भीर रूपमा अग्रसर हुनुपर्ने आवश्यकता रहेको बताएका छन्।

जारी केन्द्रीय समितिको बैठकमा पोखरेलले धारणा राख्दै कांग्रेसको विचारले कांग्रेसभित्र दिगो आर्थिक नीति निर्माण, प्रशिक्षण, र जनविश्वास पुनःस्थापनाको स्पष्ट आवश्यकता औँल्याएका छन्। अब कांग्रेसले आफ्नो ऐतिहासिक संघर्षको मूल्यलाई भविष्यमा आर्थिक नेतृत्व गर्न सकेमात्र उसले आफ्नो राजनीतिक पुनःउत्थान सम्भव बनाउनेसमेत बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्तुत आफ्नो विचारपत्रमार्फत पोखरेलले जनताको विश्वास गुमाउँदै गएको पार्टीलाई पुनः जनमुखी बनाउने हो भने आर्थिक सुशासन, निजी क्षेत्रमैत्री नीति, सार्वजनिक लगानीको प्रभावकारिता, तथा संरचनागत सुधारमा केन्द्रित स्पष्ट आर्थिक दृष्टिकोण अनिवार्य रहेको उल्लेख गरेका छन्।

पोखरेलले पछिल्लो समय पार्टीका नेतृत्वले सरकारमा रहँदा कुनै स्पष्ट आर्थिक एजेन्डा नदेखिएको, बजेटीय अनुशासन कमजोर भएको र राजस्व संकलन खस्किएकोप्रति चिन्ता व्यक्त गरेका छन्। 'यो त्यही कांग्रेस हो जहाँ महेश आचार्य र डा रामशरण महत जस्ता आर्थिक सुशासनका हस्ती थिए?,' उनले भने।

बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर बढ्नु, सेयर बजारमा गम्भीर गिरावट आउनु, र निजी क्षेत्रको लगानी उत्साह घट्नुजस्ता सूचकहरू अर्थतन्त्रको सुस्त गतिका प्रमाण भएको उनको भनाइ छ।

अर्थतन्त्रमा कुनै विशेष सुधार नदेखिएको तथा  राजस्व लक्ष्यको ७५ प्रतिशत पनि पुग्न नसकेको स्थिति रहेको समेत बताए। बैंक र वित्तीय संस्थामा केही कारोबार भैरहेका छन्, ब्याज दरहरू पनि घटेका छन्, तर निजी क्षेत्रले ऋण लिन चाहेको नदेखिएकोले झनै समस्या आउनसक्ने समेत उनले बताए।

'बैकहरुमा खराब ऋणको मात्रा बढेको छ, धेरै बैकहरुको सेयर मुल्य निकै घटेको छ,' उनले भने। सिथिल आर्थिक अवस्थाले रोजगारको अवसरहरु सिर्जनामा र सरकारको विकासका लक्ष्यमा प्राप्त गर्नमा पनि असर गरेको बताउँदै तीन तहका सरकारहरूको वित्तीय र बजेट अनुशासनको अभावले गर्दा काग्रेसमाथि प्रश्न उठिरहेको समेत बताए।

पोखरेलले नेपाली कांग्रेसले १५औँ महाधिवेशनअघि नै आगामी नीति अवधारणाहरूको स्पष्ट प्रारुप तयार पार्नुपर्ने उल्लेख गरे। त्यसमा युवा केन्द्रित आर्थिक नीति, नेपाली वस्तु तथा सेवाको उत्पादन लागत घटाउने पूर्वाधार नीति, निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने योजना, तथा विश्वसनीय आर्थिक कूटनीति जस्ता मुद्दालाई समेट्नुपर्ने बताए। 'सिर्जनशील अर्थनीति बिना कांग्रेसले न सरकार सञ्चालन गर्न सक्छ, न विपक्षमा जनताको विश्वास पाउन सक्छ' उनले भने।

पोखरेलले १५औँ महाधिवेशन २०८२ भित्रै सम्पन्न गर्ने निर्णय अहिलेको केन्द्रीय समितिबाट लिन आग्रह गरेका छन्। उनले महाधिवेशनसँगै पार्टीको नीति दस्तावेजलाई अद्यावधिक गरी, आधुनिक आर्थिक यथार्थ झल्किने गरी बनाउने कार्य थाल्नुपर्ने बताएका छन्।

पोखरेलले पार्टी सरकारमा हुँदा उठेका विवादास्पद प्रकरणमा, विशेषतः कुलिङ पिरियड मुद्दामा, कांग्रेस मौन बसेर होइन, सत्यतथ्य जनतामाझ ल्याउने शैलीमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। जनताको निराशा त्यतिबेला झन् बढ्छ जब सत्तारुढ दल आफैंले जवाफदेही नीति लिन नसक्ने समेत पोखरेलले बताए।


प्रकाशित : शनिबार, असार २१ २०८२१४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend