बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

एनआईसी एसिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

शुक्रबार, असार २० २०८२
एनआईसी एसिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

बैंक र एनसीएचएलबीच भएको यस सम्झौताले मुलुकको अन्तरदेशीय क्यूआर भुक्तानीमा समेत प्रवर्द्धन गरी नेपालमा आउने पर्यटकहरुका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराएको कम्पनीको भनाइ छ।

काठमाडौं- एनआईसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरुले नेपालपे क्यूआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्नेगरी सम्झौता सम्पन्न भएको छ।

यस सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे प्लसमा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एपमार्फत यस बैंकले उपलब्ध गराएको नेपालपे क्यूआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको छ।

उक्त सम्झौतापत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

अलीपे प्लस नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनीलगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरु आबद्ध रहेका छन्।

यस सम्झौतापछि यस बैंकमा जोडिएका मर्चेन्टहरुले अलीपे प्लस नेटवर्कमा जोडिएका मुलुकहरुका पर्यटकहरुले नेपालपे क्यूआरमार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन्।

बैंक र एनसीएचएलबीच भएको यस सम्झौताले मुलुकको अन्तरदेशीय क्यूआर भुक्तानीमा समेत प्रवर्द्धन गरी नेपालमा आउने पर्यटकहरुका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराएको कम्पनीको भनाइ छ।


प्रकाशित : शुक्रबार, असार २० २०८२१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend