बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

यातायात क्षेत्र व्यवस्थित बनाउने मन्त्री दाहालको प्रतिबद्धता, भारवहन क्षमता कडाइका साथ लागु गरिने

शुक्रबार, असार २० २०८२
यातायात क्षेत्र व्यवस्थित बनाउने मन्त्री दाहालको प्रतिबद्धता, भारवहन क्षमता कडाइका साथ लागु गरिने

उनले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न कानूनहरु संशोधनलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।यसका लागि नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिएको उनको भनाइ छ।

चन्द्रागिरी नगरपालिका-७ मा नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन समारोहमा उनले सवारीसाधनलाई भारवहन क्षमताअनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइका साथ लागु गरिने पनि बताए।

नेपाली सडक तथा संरचनाहरुको दिगो उपयोगका लागि भारवहन क्षमता कडाइका साथ लागु गर्न आवश्यक रहेको रहेको उनको भनाइ छ। अधिक भारका मालवाहक सवारीसाधनहरुका कारण नेपालका पुल तथा सडकहरुमा ठूलो नोक्सानी हुने गरेको भन्दै मन्त्री दाहालले सीमा क्षेत्रदेखि नै यसको नियन्त्रण गरिने बताए।

उनले नेपालका सडक, पुललगायतका संरचनाहरुको संरक्षण सबैको दायित्व रहेको पनि उल्लेख गरे। ‘हाम्रो भूबनोट तथा सडकको अवस्थाअनुसार पुलहरुको निर्माण गरिएको हुन्छ’, मन्त्री दाहालले भने, ‘निश्चित भार क्षमताका ती संरचनामा जथाभावी अधिक भारका सवारीसाधन चलाउनु हुँदैन, हाम्रा संरचनको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो।’

उनले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न कानूनहरु संशोधनलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। कार्यक्रममा व्यावसायीहरुले राखेका माग सम्बोधनमा मन्त्रालय सकारात्मक रहेको मन्त्री दाहालले बताए।

यस्तै, मन्त्री दाहालले नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै नेपालमा केही भएन र हुँदैन भन्नेहरुको भ्रमलाई एसियन मापदण्डमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा मध्यपहाडी राजमार्गले चिरिरहेको समेत बताए। उत्तर-दक्षिण करिडोरका रुपमा निर्माण भइरहेका राजमार्गहरुले नेपाललाई चीन र भारतसँगको पहुँचलाई पनि बलियो बनाइरहेको मन्त्री दाहालको भनाइ छ।

हुम्लामा समेत पुल बनेसँगै नेपालका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको भन्दै उनले अब विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको उल्लेख गरे। ‘हामीले सडक तथा पुलहरु त बनायौँ तर यो नै अन्तिम विकास होइन, यी संरचनाहरुको माध्यमबाट उत्पादन वृद्धि गर्न जरुरी छ’, मन्त्री दाहालले भने, ‘अब सहर र गाउँको दुरी टाढा रहेन, गाउँमा पनि उद्यमशीलताको विकास गर्न सहज भएको छ। त्यहाँ उत्पादित तथा प्रशोधित कृषि उपजलगायतका उत्पादनहरुलाई बजारसम्म ल्याएर उत्पादन वृद्धितर्फ पनि हामीले ध्यान दिने बेला आएको छ।’


प्रकाशित : शुक्रबार, असार २० २०८२१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend