बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

टीकापुरमा शीतभण्डार निर्माण अन्तिम चरणमा, ८५ प्रतिशत काम सकियो

शुक्रबार, असार २० २०८२
टीकापुरमा शीतभण्डार निर्माण अन्तिम चरणमा, ८५ प्रतिशत काम सकियो

शीतभण्डार आयोजनाको ८० प्रतिशत र उपभोक्ताको २० प्रतिशत लगानीमा निर्माण भइरहेको हो। अहिलेसम्म ८५ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ।

टीकापुर- राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा निर्माण गरिरहेको शीतभण्डार अन्तिम चरणमा पुगेको छ। आयोजना र उपभोक्ताको लागत तथा सहभागितामा शीतभण्डार निर्माण भइरहेको हो।

सात करोड ६ लाख ६९ हजार ६ सय रूपैयाँको लागतमा निर्माण भइरहेको शीतभण्डार एक हजार मेट्रिकटन क्षमताको छ। शीतभण्डार आयोजनाको ८० प्रतिशत र उपभोक्ताको २० प्रतिशत लगानीमा निर्माण भइरहेको हो। अहिलेसम्म ८५ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ।

परामर्शदाता इञ्जिनियर मदन धामीले एक हजार मेट्रिकटनको दुईवटा च्याम्बर बनिरहेको बताए। यो शीतभण्डार बहुउपयोगी हुने उनको भनाइ छ। किनारा निर्माण सेवा धनगढीका निर्माण व्यवसायी सुभास बोहराले शीतभण्डार निर्माणका लागि आवश्यक सामग्री केही स्वदेशमै र केही भारतबाट ल्याइएको बताए।

शीतभण्डार सञ्चालन भएपछि सुरुमा यहाँका आलुखेती गर्ने किसानलाई ठूलो राहत हुने भएको छ भने भविष्यमा फलफूल र तरकारीका लागि पनि प्रयोग गर्ने योजना छ। यहाँ उत्पादन भएको आलु कोहलपुर र महेन्द्रनगरका कोल्डस्टोरमा राख्न बाध्य भएका किसानले टीकापुरमा कोल्डस्टोर निर्माण हुन थालेपछि आलु उत्पादन बढाउन थालेका छन्।

आयोजनाका प्रमुख भरत कँडेल किसानले उत्पादन गरेको आलु, तरकारी र फलफूलले राम्रो मूल्य पाओस् भनी आयोजनाले शीतभण्डार निर्माणमा सघाएको बताउँछन्। 'किसानलाई धेरै राहत हुनेछ, शीतभण्डारमा दुई वटा च्याम्बर छ', उनले भने, 'अहिले आलुका लागि प्रयोग हुनेछ भने भविष्यमा अन्य तरकारी र फलफूल पनि राख्न सकिनेछ।'

किसानले सस्तो दरमा आफ्नै ठाउँमा भण्डारण गर्न पाउने कँडेलको भनाइ छ। शीतभण्डार सञ्चालन भएमा कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिकाका किसानले यसबाट लाभ लिन सक्नेछन्। आयोजनाले शीतभण्डार निर्माण सम्पन्नपछि रानी जमरा कुलरिया मूल कुला समितिलाई हस्तान्तरण गर्ने र मूल कुला समितिले सञ्चालन गर्ने योजना बनाइएको छ।

'मूल कुला समितिले शीतभण्डार व्यवस्थापन समिति गठन गरेर सञ्चालन गर्नेछ', रानीजमरा कुलरिया मूल कुला समितिका सचिव पर्शुराम महतोले भने, 'दिगो रुपमा कसरी सञ्चालन गर्ने भनी छलफल भइरहेको छ। हामीलाई हस्तान्तरण भएपछि किसानका गाउँगाउँमा गएर छलफल गरेर कार्यविधि बनाएर मात्र शीतभण्डार सञ्चालन गर्नेछौँ।'

महतो आयोजनाले किसानलाई व्यावसायिक बनाउन सघाएको बताए। 'आयोजनाको सहयोगले पहिलो र दोस्रो चरणमा यस क्षेत्रका किसानलाई उद्यमी बनाएको, उत्पादन वृद्धि भएको, व्यवसाय र बाली विविधीकरणमा किसानको धारणा परिवर्तन भएको छ', महतोले भने, 'सिँचाइका लागि किसानलाई राहत भएको छ। शीतभण्डार बनेपछि आलु खेती गर्ने किसानले फाइदा लिनेछन्।'

आयोजनाले किसानलाई बिजवृद्धि, धान, गहुँ, मकै, तरकारी, केराखेती प्रवर्द्धन, कृषि यान्त्रिकीकरण, प्रविधिको उपयोग र बाली उत्पादनमा सहयोग गरेको छ।

आयोजनाले तेस्रो चरणमा कार्यक्षेत्र विस्तार गरेर काम गर्ने भएको छ। यसअघि टीकापुर लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा काम गरिरहेको आयोजनाले तेस्रो चरणमा लम्कीचुहा, भजनी नगरपालिका, बर्दगोरिया, जोशीपुर गाउँपालिकामा सिँचाइ विस्तार, पोखरी सौन्दर्यकरण, कृषि उत्पादन वृद्धिलगायत क्षेत्रमा काम गर्ने भएको छ। रासस


प्रकाशित : शुक्रबार, असार २० २०८२१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend