बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

९ सय मेगावाट क्षमताको अरुण-३ आयोजनाको बिजुली भारतको उत्तर प्रदेश विद्युत् निगमले खरिद गर्ने

बुधबार, असार १८ २०८२
९ सय मेगावाट क्षमताको अरुण-३ आयोजनाको बिजुली भारतको उत्तर प्रदेश विद्युत् निगमले खरिद गर्ने

आयोजनाले सन् २०२८ भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। आयोजनाको लागत १ खर्ब ४ अर्ब रूपैयाँ अनुमान गरिएको छ।

काठमाडौं- भारत सरकारको स्वामित्वमा रहेको सार्वजनिक कम्पनी एसजीभीएन लिमिटेडले नेपालमा निर्माणाधीन ९ सय मेगावाटको अरुण-३ जलविद्युत् आयोजनाअन्तर्गत उत्पादन हुने विद्युत् आपूर्तिका लागि भारतको उत्तर प्रदेश विद्युत् निगम लिमिटेडसँग बिक्री सम्झौता गरेको छ।

कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा सो सम्झौता नेपालमा सञ्चालित सबैभन्दा ठूलो विदेशी लगानीमा आधारित जलविद्युत् आयोजनाबाट भारतमा विद्युत् आपूर्ति गर्नेसम्बन्धी महत्त्वपूर्ण उपलब्धिको भएको जनाएको छ।

अरुण-३ आयोजना एसजीभीएनको पूर्ण स्वामित्वमा रहेको एसजीभीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनीमार्फत संखुवासभामा निर्माण भइरहेको छ। आयोजनाले सन् २०२८ भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। आयोजनाको लागत १ खर्ब ४ अर्ब रूपैयाँ अनुमान गरिएको छ।

अरुण-३ परियोजना नेपालको जलस्रोतलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दृष्टिले रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। सम्झौताले नेपाल-भारत ऊर्जा व्यापारलाई थप संस्थागत बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।

संखुवासभामा निर्माण भइरहेको यो आयोजना नदी प्रवाहमा आधारित हो र निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

सतलजले अरुण तेस्रोमात्र होइन, यससँगै ६७९ मेगावाटको तल्लो अरुण र ४९० मेगावाटको अरुण-४ जलविद्युत् आयोजना पनि पाएको छ। तीनवटै आयोजना अरुण नदीको बहावमा आधारित छन् र नेपाल-भारत ऊर्जा सहकार्यको महत्वपूर्ण नमूना मानिएका छन्।

अरुण तेस्रो आयोजनाबाट उत्पादित विद्युत् भारत निर्यात गरिने भए पनि नेपाललाई पनि उल्लेख्य लाभ हुने व्यवस्था परियोजना विकास सम्झौतामा गरिएको छ। सम्झौताअनुसार नेपालले आयोजनाबाट २१.९ प्रतिशत विद्युत् निःशुल्क पाउनेछ। आयोजनाबाट प्रत्यक्ष प्रभावित परिवारले मासिक ३० युनिटसम्म निःशुल्क विद्युत् प्राप्त गर्नेछन्। त्यस्तै, आयोजना निर्माण सम्पन्न भएपछि २५ वर्षसम्म सञ्चालन गरेर नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिने व्यवस्था छ।

नेपाललाई प्रत्यक्ष आर्थिक लाभका हिसाबले कर, भन्सार, रोयल्टी, सामाजिक उत्तरदायित्व तथा पूर्वाधार निर्माण लगायत शीर्षकमा करिब तीन खर्ब ४८ करोड रूपैयाँ बराबरको लाभ हुने आयोजनाले दाबी गरेको छ। आयोजनाको कुल लागत करिब एक खर्ब चार अर्ब रूपैयाँ अनुमान गरिएको छ।

हाल आयोजना स्थलमा नेपाली र भारतीय गरी झन्डै चार हजार कामदार खटिएका छन्। सुरुङ, बाँध, टनेल र पावरहाउस निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजनाले जनाएको छ। यदि कुनै ठूलो अवरोध नआएमा आयोजना निर्धारित समयमै सम्पन्न हुने र उत्पादन सुरु हुने अपेक्षा गरिएको छ।

अरुण तेस्रो जलविद्युत् आयोजना नेपालको जलस्रोत क्षेत्रको सम्भावना उपयोग गर्ने प्रयाससँगै भारतसँगको ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने परियोजनाको रूपमा हेरिएको छ। आयोजना सम्पन्न भएपछि नेपालले तत्काल निःशुल्क विद्युत्, दीर्घकालीन भौतिक संरचना र विदेशी लगानीमार्फत प्राप्त अनुभवका रूपमा बहुआयामिक फाइदा हासिल गर्ने अपेक्षा गरिएको छ।


प्रकाशित : बुधबार, असार १८ २०८२१८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend