बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निजी क्षेत्रलाई 'हेप्ने' कांग्रेस नेतृत्वप्रति विनोद चौधरीले उठाएका प्रश्नले राजनीतिक वृत्तमा तरंग

बुधबार, असार १८ २०८२
निजी क्षेत्रलाई 'हेप्ने' कांग्रेस नेतृत्वप्रति विनोद चौधरीले उठाएका प्रश्नले राजनीतिक वृत्तमा तरंग

२०४६ सालपछि कांग्रेसले लिएको निजी क्षेत्रमैत्री नीतिबाट कांग्रेस नेतृत्व कतै विचलनमा त गएको होइन भन्ने बहस भइरहेका बेला चौधरीले उठाएका सवालले धेरैलाई झस्काएको छ।

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले उठाएका प्रश्नले राजनीतक वृत्तमा व्यापक चर्चा पाइरहेको छ।

सांसद चौधरीले वरिष्ठ नेता शेखर कोइरालाप्रति लक्षित गर्दै गरेका आठवटा प्रश्नले कांग्रेसका साथै अन्य पार्टी र निजी क्षेत्रमा समेत यतिबेला बहस भइरहेको छ। 

चौधरीले गरेका प्रश्न केवल व्यक्तिगत असन्तुष्टिमात्रै नभएर नेपालका पार्टी नेतृत्वको सोच, दृष्टिकोण र समावेशी चरित्रमाथि गहिरो प्रश्न रहेको चर्चा भइरहेको छ। चौधरीका प्रश्नले कांग्रेसमा चलिरहेको संघर्षको यथार्थ उजागर गर्नुका साथै कांग्रेसले लिएको नीतिगत नेतृत्वमा पछिल्लो समय आएको बिचलनमाथि पनि तिखो प्रहारको रुपमा हेरिएको छ।

२०४६ सालपछि कांग्रेसले लिएको निजी क्षेत्रमैत्री नीतिबाट कांग्रेस नेतृत्व कतै विचलनमा त गएको होइन भन्ने बहस भइरहेका बेला चौधरीले उठाएका सवालले धेरैलाई झस्काएको छ।

कांग्रेस परम्परागत रूपमा लोकतन्त्र र समावेशिताको पक्षमा उभिएको पार्टी भए पनि नेतृत्व तहमा अहिले पनि निजी क्षेत्र, व्यवसायी, युवा पुस्ता र विषय विज्ञहरूप्रति शंका गर्ने सोच विद्यमान रहेको चौधरीले संकेत गरे।

आफू सांसद भएको विषयलाई लिएर उनले गरेको प्रश्नले व्यक्तिगत अस्वीकारमात्र होइन संस्थागत सोचमा देखिएको संकिर्णताको झल्को दिन्छ। यसमा केवल पद वा भूमिकाको विषयमात्र छैन, नेतृत्वले कसरी फरक पृष्ठभूमिबाट आएका पात्रलाई मूल्यांकन गर्छ भन्ने सवाल उठाइएको छ। चौधरीको आरोपअनुसार नेतृत्वले व्यवसायी, उद्यमशील वा आधुनिक पृष्ठभूमिका पात्रलाई सहज स्वीकृति दिन सकिरहेको छैन।

शेखर कोइरालामाथि चौधरीले गरेको अर्को प्रश्न गुटगत स्वार्थका लागि पार्टी अनुशासन उल्लंघन गर्ने पात्रको संरक्षण गरेर पार्टी निर्णयविपरीत गतिविधिप्रति रहेको छ। पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लागेका व्यक्ति बोकेर कोइरालाले कुन संस्थागत मूल्य जोगाइरहेका छन् भन्ने सवाल चौधरीको छ।

निजी क्षेत्रप्रति शेखर कोइरालाको सोचमा चौधरीले गहिरो असहमति जनाएका छन्। निजी क्षेत्रका मान्छेप्रति तपाईंको सोच के हो? भन्ने उनको प्रश्न छ। लोकतन्त्रमा निजी क्षेत्रको सहभागिताबिना नीति निर्माण अपूर्ण हुन्छ तर कांग्रेसभित्र अझै पनि व्यवसायीलाई अवसरवादी, स्वार्थी वा असक्षम ठान्ने मनोविज्ञान विद्यमान छ।

चौधरीले राजनीतिक पाखण्डप्रति पनि प्रश्न उठाएका छन्। ‘हामीसँग चन्दा माग्ने, हामीलाई नेता मान्न लजाउने?’ उनले प्रश्न गरेका छन्। यो केवल एक प्रश्न होइन दशकौँयता दोहोरिएको एउटा प्रवृत्तिमाथिको व्यंग्य पनि हो। सहयोग चाहिएका बेला व्यवसायीको ढोका ढकढक्याउने तर पार्टी र नीतिगत नेतृत्वमा उनीहरूलाई हेप्ने संस्कार अहिले पनि कायमै छ।

चौधरीले कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठको व्यवहारलाई उदाहरणस्वरूप प्रस्तुत गर्दै ‘उमेश श्रेष्ठ कोषाध्यक्ष बन्दा किन अपमान गरियो?’ पनि प्रश्न गरे। चौधरीको बुझाइमा यो अपमान केवल व्यक्तिप्रति होइन, उद्यमी वर्गप्रति राजनीतिक नेतृत्वको दृष्टिकोणलाई उजागर गर्ने एउटा प्रसंग हो।’ 

चौधरीले शेखर कोइरालालाई संकिर्ण सोच भएको आरोप लगाउँदै सिधै भने, ‘तपाईंजस्तो संकिर्ण मान्छेले कांग्रेस हाँक्न सक्छ?’ नेतृत्व केवल राजनीतिक संघर्ष र वंशानुगत पृष्ठभूमिमा सीमित राख्दा कांग्रेसजस्तो पुरानो पार्टीले समयसँग मेल खाँदैन भन्ने उनको भनाइ छ।

चौधरीको थप प्रश्न मन्त्रालय र नीतिगत निर्णयमा विषय विज्ञको भूमिकामा पनि हो। 'विषय विज्ञ मन्त्री बन्दा कसरी स्वार्थको द्वन्द्व हुन्छ?' उनले भने ‘कुनै व्यक्ति व्यवसायी छ भनेरमात्र उसलाई नीतिगत भूमिकाबाट अलग राख्नु राजनीतिक संकिर्णता हो र संविधानको भावनाविपरीत सोच पनि।’

जेलनेल भोगेकाबाहेक अरू कांग्रेस बन्न नपाउने?  भन्दै चौधरीले  कांग्रेसको संघर्षको परिभाषामाथि चुनौतीसमेत दिएका छन्। चौधरी भन्छन्, ‘आजका युवाहरू, महिला, दलित, जनजाति, उद्यमी सबैले आआफ्नो तरिकाले लोकतन्त्रका लागि योगदान दिएको हो।’ 

चौधरीका प्रश्नले नेतृत्वशैली, कांग्रेसको समावेशी चरित्र र नयाँ नीतिबीचको दुरीलाई सतहमा ल्याएको छ। नेपाली कांग्रेसभित्र चलिरहेको यो बहस अब नेतृत्व चयन वा गुटगत समीकरणको मात्रै विषय रहेन। यो वैचारिक स्पष्टताको मुद्दा हुनुपर्ने देखिएको छ।


प्रकाशित : बुधबार, असार १८ २०८२१५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend