बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आठ महिनादेखि निमित्त प्रमुखको भरमा सुनकोसी-मरिण डाइभर्सन, ऊर्जा मन्त्रालयलाई छिटो सहसचिव पठाउन निर्देशन

बुधबार, असार ११ २०८२
आठ महिनादेखि निमित्त प्रमुखको भरमा सुनकोसी-मरिण डाइभर्सन, ऊर्जा मन्त्रालयलाई छिटो सहसचिव पठाउन निर्देशन

समिति सभापति दीपक सिंहले सहसचिव तहको कर्मचारीलाई आयोजना प्रमुख बनाएर पठाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेका छन्।

काठमाडौं- आठ महिनादेखि राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन आयोजना निमित्त कार्यलय प्रमुखको भरमा सञ्चालन भएको पाइएको छ। बुधबार पूर्वाधार विकास समितिले राखेको मरिण डाइभर्सन आयोजनाको वर्तमान अवस्थासम्बन्धी छलफलमा आयोजना प्रमुख नभइ निमित्त उपस्थित भएपछि उक्त विषय बाहिरिएको हो।

सामान्यतया राष्ट्रिय गौरवका आयोजनामा सहसचिव तहको कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने हुन्छ। जसले गर्दा आयोजना निर्माण कार्यले तीव्रता पाउँछ। तर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले २०८१ कात्तिक १२ गतेदेखि उपसचिवलाई मरिण डाइभर्सनको जिम्मेवारी दिएका छन्।

गत असोजमा बाढीले आयोजनाको बाँधस्थल पुरेसँगै काम गर्न समस्या हुने थाहा पाएर सहसचिवहरुले मरिण डाइभर्सन जान मानेका छैनन्। तत्कालीन आयोजना प्रमुख मित्र बराल मन्त्रालयमा सरुवा भएपछि उपसचिव बद्रीबहादुर कार्कीलाई निमित्त आयोजना प्रमुख बनाएर मन्त्री खड्काले पठाएका हुन्।

मरिण डाइभर्सनमा बाँध र विद्युतगृह निर्माणको जिम्मेवारी भारतीय कम्पनी पटेल र नेपाली रमणको जोइन्ट भेन्चर कम्पनी (जेभी)ले लिएको छ। तर, आयोजना स्थलमा रमणमात्रै रहेको र त्यसले पनि असोजको बाढी पछि कुनैपनि काम गरेर भुक्तानीका लागि बिल पेस नगरेको निमित्त आयोजना प्रमुख कार्की बताउँछन्। जसले गर्दा आयोजना निर्माणले गति लिन सकेको छैन।

पूर्वाधार विकास समितिका सदस्य सांसदहरु राष्ट्रिय गौरवको आयोजना निमित्तको भरमा चलाउनु निर्माण कम्पनीले काममा लापरबाही गर्नुभन्दा ठूलो गल्ती भएको बताउँछन्। सांसद माधव सापकोटाले भने, ‘रमणले काम गरेन भन्ने तर, मन्त्रालयले आयोजना प्रमुखको व्यवस्था नगर्ने पनि हुन्छ र? यो निर्माण कम्पनीले काम नगर्नुभन्दा ठूलो गल्ति भयो। पहिला आफ्नो कमजोरी हामीले पनि हेर्नुपर्छ।’

त्यस्तै, सांसद ठाकुर गैरे र पूर्वऊर्जामन्त्रीसमेत रहेका सांसाद शक्तिबहादुर बस्नेतले पनि निमित्तको भरमा आठ महिनादेखि गौरवको आयोजना छोड्नु गैरजिम्मेवारी भएको बताएका छन्।

समिति सभापति दीपक सिंहले सहसचिव तहको कर्मचारीलाई आयोजना प्रमुख बनाएर पठाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेका छन्।


प्रकाशित : बुधबार, असार ११ २०८२१७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend