बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

धितोपत्र बोर्डको अध्यक्ष बनाउन बिचौलियाको सक्रियता 

स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्स हडप्न नियामक नै 'हाइज्याक'

मंगलबार, फागुन ३ २०७८
धितोपत्र बोर्डको अध्यक्ष बनाउन बिचौलियाको सक्रियता 

हमाल कांग्रेस निकट रहेकाले उनको नियुक्ती हुँदा विवाद पनि नहुने बुझाइ छ। 

काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अध्यक्ष छनौट गरी सरकारलाई सिफारिस गर्न बनेको समितिले तीन जना सम्भावित योग्य उम्मेदवारहरूको नाम सरकारलाई दिइसकेको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्‍वनाथ पौडेलको नेतृत्वमा बनेको समितिले कृष्ण पोखरेल, डा गोपाल भट्ट र डा रमेश हमालको नाम सिफारिस गरिसकेको छ। यी तीन जनाबाट मन्त्रिपरिषद्को बैठकले एकजनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गर्ने छ।

तर यो पटक नियुक्त हुने अध्यक्ष पूर्ण कार्यकालका लागि भने होइन। यसअघि सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन प्रक्रियामा अनियमितता गरेको भन्दै बर्खास्त भएका भीष्म ढुंगानाकै बाँकी कार्यकालका लागि नियुक्त हुने छन्। धितोपत्र बोर्ड ऐनको दफा १४ मा कार्यकाल सकिनुअघि नै बर्खास्त वा राजीनामा दिएपछि अध्यक्ष वा सदस्यको बाँकी अवधिका लागि नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ। 

तत्कालीन अध्यक्ष भीष्म ढुंगानाले अनियमितता गरेपछि उनी बर्खास्त  भएका थिए। २०७६ को पुसमा नियुक्त भएका ढुंगानाको बाँकी कार्यकाल भनेको अब २०८० सम्म थियाे। छोटो अवधिका लागि नियुक्त हुने नयाँ अध्यक्षका लागि भने बिचौलिया सक्रियता बढेको छ। 

अध्यक्ष नियुक्तिको प्रक्रिया सुरू भएदेखि नै उम्मेद्वार  खोस्नेसम्मका काममा बिचौलियाहरु सक्रिय भएका थिए। पाँचजनाको नाम छनौट र अन्तिम सर्टलिस्टसम्म बिचौलियाको सक्रिय देखिएको छ। 

धितोपत्र बोर्डको अध्यक्षमा निकै चासो दिएर लागिरहेका एक पात्र हुन् दीपक भट्ट। प्राय सबै राजनीतिक दलका उच्च नेताहरूसँग पहुँच भएका भट्ट धितोपत्र बोर्डको अध्यक्ष आफ्नै मान्छे बनाइछाड्ने ध्याउन्नमा छन्। धितोपत्र बोर्डमा आफ्नो मान्छे सकेसम्म यो क्षेत्रलाई नजिकबाट नबुझेकालाई ल्याउने उनको जोड छ। यसका लागि अर्थमन्त्री, प्रधानमन्त्री पत्नी आरजू राणा देउवालाई सहमत बनाइसकेका छन्। 

धितोपत्रमा कांग्रेस निकटले कोटा पाउने सैद्धान्तिक सहमति भएपछि भट्टले कांग्रेस निकट व्यक्ति नै खोजेर उम्मेदवारमात्रै बनाएका छैनन् उनको पहिलो र दोस्रो रोजाइका व्यक्ति अन्तिम तीनको सूचीमा परिसकेका छन्। 

भट्टको चासो किन छ? नियामकमै आफ्नो मान्छे ल्याएर पूर्णकालीन दबदबा बनाउन सकिन्छ भन्ने उनी विश्वस्त भएका छन्। उनको यसमा अनुभव पनि छ। यसअघि बीमा समितिमा आफ्नै मान्छे सूर्य सिलवाललाई अध्यक्ष बनाएर पछि उनकै अग्रसरतामा हिमालय पुर्नबीमा कम्पनीले लाइसेन्स पाएको थियो। आफू निकट व्यक्तिका लागि अनुमतिमात्र होइन त्यसका लागि आवश्यक लाभका लागि नियामकीय निर्णय पनि निरन्तर हुने छन् भने अरु नयाँ आउनेहरुका लागि पनि उनैले बार्गेनिङ गर्ने बाटो पाउनेछन्। 

निश्चित ठेक्कमा चासो दिनुभन्दा नियामककै कब्जा गरेपछि धेरै सजिलो हुने उनको बुझाइ छ। यही कारणले धितोपत्रमा विशेष चासो दिएका छन्। 

पछिल्लो केही वर्षदेखि नेपालमा निजी स्टक एक्सचेन्ज कम्पनीलाई अनुमति दिने बहस भइरहेको छ। अहिले सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज कम्पनीमात्र रहेको छ। यसको प्रतिस्पर्धीका रूपमा निजी कम्पनीलाई अनुमति दिने तयारी भइरहेको छ। यस्तो अनुमति लिन भन्दै केही व्यवसायीहरुले प्रस्ताव पनि पेश गरिसकेका छन्।

स्वभाविका रुपमा यस्तो कम्पनीको अनुमतिमा नेपालका ठूला व्यावसायिक घरानाको छ। तर प्रतिस्पर्धामा जाँदा पाउने निश्चित छैन। कसले पाउँछ भन्ने कुनै ग्यारेन्टी छैन। यस्तो अनुमति खोजिरहेका व्यवसायीका लागि भट्ट तयार देखिएका छन्। उनीप्रति व्यवसायीको विश्वास किन पनि छ भने यसअघि हिमालय पनर्बिमा कम्पनीको लाइसेन्स लिन सफल भएका छन्। 

विशेषगरी शंकर समूहको विश्वापात्रका रुपमा रहेका भट्टले धितोपत्रमा पनि त्यही मिसनसहित सक्रिय भएका छन्। शंकर समूह बाहेक अरु समूहले पनि चासो दिएका छन्। तर शंकर समूहको चासोलाई पूर्णता दिने अभियानमा भट्ट रहेका छन्। 

भट्टले यही अभियानका रूपमा धितोपत्रमा धेरै जानकारी नभएका पात्र रमेश हमाललाई पिक गरेका छन्। लामो समय थाइल्यान्डमा रियलस्टेट एजेन्टको रुपमा काम गरेका हमालसँग धितोपत्रका बारेमा खासै जानकार छैनन्। 

'हमालले दिएको प्रस्तुती नै एउटा बैंकको सीईओले बनाइदिएका हुन्। उनीसँग खासै जानकारी छैन। तर भट्ट हमाललाई जसरी पनि बनाइछाड्ने अभियानमा छन्' यो विषयका जानकार एक व्यवसायीले भने। 

हमाललाई पहिलो प्राथमिकतामा राखेका भट्टले माथिसम्म मिलाइसकेको अब नियुक्त हुने विश्वास व्यक्त गर्दै हिडेका छन्।

हमाल पछि उनको दोस्रो प्राथमिकतामा गोपाल भट्ट हुन्। तर गोपाल भट्ट धितोपत्रका बारेमा आफै जानकार रहेकाले उनलाई धेरै दुरूपयोग गर्न नसकिने उनको बुझाइ छ। 

हमाल कांग्रेस निकट पनि रहेकाले उनको नियुक्ती हुँदा विवाद पनि नहुने उनको बुझाइ छ। 

अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म हमालको विषयमा सहमत भएपछि छनौट समितका संयोजक तथा योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले प्राधानमन्त्रीलाई कन्भिन्स गरेर हमाललाई रोक्नसक्ने सम्भावना पनि छ। 'तर यो सम्भावना एकदमै न्यून छ' स्रोतले भन्यो। 


प्रकाशित : मंगलबार, फागुन ३ २०७८१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend