काठमाडौं- बीवाईडीका विद्युतीय कार आयात हुँदा १० करोड ३७ लाख रुपैयाँभन्दा बढी रकम छली भएको पाइएको छ। बीवाईडी बिक्रेता साइमेक्स इंकले कार आयात गर्दा सडक मर्मत दस्तुरमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्नुपर्नेमा त्यो छुटेको हो।
साइमेक्स इंकले बीवाईडीका विद्युतीय कार रसुवागढी नाका हुँदै आयात गर्दै आएको छ। दुई आर्थिक वर्षमा आयात भएका बीवाईडीका विद्युतीय कारमा सडक मर्मत दस्तुरमा भ्याट नलागेको विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ।
दुई आर्थिक वर्षमा साइमेक्स इंकले आयात गरेको विद्युतीय कारमा १० करोड ३७ लाख १३ हजार ३ सय ३५ रुपैयाँ छुटेको पाइएको हो।
आर्थिक ऐन २०८० र २०८१ तथा मूल्य अभिवृद्धि कर ऐनअनुसार सडक मर्मत दस्तुरमा मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था रहेको छ। तर उक्त कानूनअनुसार सडक मर्मत दस्तुरमा मूल्य अभिवृद्धि कर नलागेको ठहर महालेखाले गरेको छ।
उल्लेखित विवरण रसुवागढी भन्सार कार्यालयबाट आयात भएका विद्युतीय कारमा सडक मर्मत दस्तुरमा मूल्य अभिवृद्धि कर छुट भएको पाइएको हो। अन्य कार्यालयहरूबाट आयात भएका कारमा समेत यसरी सडक मर्मत दस्तुरमा मूल्य अभिवृद्धि कर छुट भएको हुनसक्छ।
सवारी आयातमा विभिन्न प्रकारले करछली तथा महसुल छुट भइरहँदा महालेखा उठाएको प्रश्नले भन्सार कार्यालयमा थप दबाब सृजना भएको छ। म्हालेखाले औँल्याएअनुसार उत्तरी नाकामा रहेको भन्सार कार्यालयहरूबाटै अर्बौँ राजस्व छुट/छली भएकाले उठाउन पर्ने देखिएको छ।
चीनबाट आयात भएका माइक्रोबस तथा भ्यानहरूमा सिट बढाउनेदेखि वर्ग नै परिवर्तन गरेर कम करको दरमा आयात भइरहेको छ। विभिन्न वर्ग र शीर्षकमा आयात भएका माइक्रोबस र कारबाट कर असुल गर्नुपर्ने ठहर गरिएको छ।
बीवाईडी बिक्रेता साइमेक्सले आयात गरेको विद्युतीय कारको सडक मर्मत दस्तुरमा मूल्य अभिवृद्धि कर छुट भएका आधार यस्तो छ :
आर्थिक ऐन २०८० र २०८१ को क्रमशः दफा ६ र ३ बमोजिम मूल्य अभिवृद्धि कर २०५२ बमोजिम मूल्य अभिवृद्धि कर(मूल्य अभिवृद्धि कर ऐन २०५२) लगाइने र असुल गरिने व्यवस्था गरेको छ। मूल्य अभिवृद्धि कर प्रयोजनार्थ कारोबार मूल्य कायम गर्दा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा ५ बमोजिम नेपालमा आपूर्ति हुने वस्तुमा मूल्य अभिवृद्धि कर ऐन २०५२ लाग्ने र सोको गणना गर्दा कारोबार मूल्यको हकमा सो ऐनको दफा १२(२)ख बमोजिम कर लाग्ने मूल्यमा सालबसाली आर्थिक ऐनले तोकेबमोजिम लाग्ने महसुल, दस्तुर वा शुल्कसमेतलाई समावेश गर्ने व्यवस्था गरेको छ। भन्सार विभागको २०५५ चैत ३० को .निर्णयानुसार कर विभागबाट च. नं. ३७९१ मिति २०५५ चैत १५ बाट लेखिए बमोजिम पैठारीमा लाग्ने सबै कर (महसुल, शुल्क, दस्तुरसमेत) जोडी कर लाग्ने मूल्य कायम गर्नुपर्ने भनि परिपत्रसमेत गरेको अवस्था छ।
सडक निर्माण दस्तुर उपर मूल्य अभिवृद्धि कर नलाग्ने कानूनी प्रबन्ध रहेको छैन। सवारीसाधन पैठारी गर्दा भन्सार बिन्दुमा सबै किसिमका दस्तुर र शुल्कलगायतमा मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था रहेकोमा सडक मर्मत तथा सुधार दस्तुरमा मूल्य अभिवृद्धि कर निर्धारण गरे तापनि सडक निर्माण दस्तुरमा मूल्य अभिवृद्धि कर निर्धारणगरी असुल गरेको पाइएन।
सडक निर्माण दस्तुर लगाउने प्रयोगनको लागि आर्थिक ऐन २०८० को अनुसूची ३ बमोजिम परिमाणगत आधार बाहेक मूल्यगत आधार कामय गर्दा मूल्य अभिवृद्धि करसमेतको रकममा दस्तुर निर्धारण गर्ने व्यवस्थाले सो दस्तुरमा मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम छुट दिन नमिल्ने अवस्थामा पनि आशिकुडाको डिजिटल पद्धतिमा सडक निर्माण दस्तुरलाई समावेश नगरी नै मूल्य अभिवृद्धि कर गणना गर्ने गलत कोडिङका कारण कानून बमोजिम असुल गर्नुपर्ने मूल्य अभिवृद्धि कर रकम छुटिरहेको स्थिति छ।
आर्थिक ऐन २०८० र २०८१ त्था मूल्य अभिवृद्धि कर ऐन २०५२ ले कारोबार मूल्यमा लाग्ने सबै कर महसुल, शुल्क र दस्तुर समावेश गरी मूल्य अभिवृद्धि कर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम सवारी साधन पैठारी गर्दा लाग्ने सडक निर्माण दस्तुरलाई कर लाग्ने मूल्यमा समावेश गरी मूल्य अभिवृद्धि कर ऐन बमोजिम यस प्रतिवेदनको अनुसूची २ मा उल्लेखित प्रज्ञापनपत्रबाट निर्धारण गरेको सडक निर्माण दस्तुर रकममा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्ने छ।