शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

११ महिनामा ४२ हजारभन्दा बढी पर्यटकले गरे रसुवा भ्रमण

सोमबार, असार २ २०८२
११ महिनामा ४२ हजारभन्दा बढी पर्यटकले गरे रसुवा भ्रमण

निकुञ्जका अनुसार सोही अवधिमा आगन्तुक पर्यटक, वन पैदावार र हेलिकोप्टर अवतरण शुल्कबापत चार करोड ८१ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

रसुवा- प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको हिसाबले धनी एवं रमणीय लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।

विशेषगरी पवित्र तीर्थस्थलको दर्शनसहित हिमाल तथा पहाडको सुन्दर दृश्य हेरी रमाउने र स्थानीय तामाङ समुदायको कला संस्कृतिको अवलोकन गर्ने उद्देश्यले पर्यटक रसुवा आउने गरेको देखिन्छ।

चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रमा ४२ हजार २ सय ३० आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जका अभिलेखकर्ता रेञ्जर केशव ढौडारीका अनुसार स्वदेशी ३० हजार ७ सय ५० र बाँकी ११ हजार ४ सय ८० विदेशी नागरिक गत साउनदेखि जेठ मसान्तसम्ममा रसुवा जिल्ला घुम्न आएका हुन्। गत आर्थिक वर्ष रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या ३२ हजार ५ सय ९७  रहेको निकुञ्जले जनाएको छ।

आन्तरिक पर्यटक लाङटाङतर्फको प्राकृतिक दृश्यको अवलोकनपछि गोसाइँकुण्डमा जलस्नान गरी फर्कने गर्दछन्। संघीय राजधानी काठमाडौंबाट नजिक रहेको धार्मिक तथा पर्यटकीयस्थल रसुवामा विशेषगरी तीथयात्रुसहित युवायुवतीको घुम्न आउनेक्रम बढेको छ।

निकुञ्जका अनुसार सोही अवधिमा आगन्तुक पर्यटक, वन पैदावार र हेलिकोप्टर अवतरण शुल्कबापत चार करोड ८१ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

नेपालीलाई प्रतिव्यक्ति एक सय, ‘सार्क’ राष्ट्रका नागरिकलाई एक हजार ५ सय र अन्य देशका पर्यटकलाई तीन हजार रूपैयाँका दरले निकुञ्ज प्रवेश शुल्क लिने कानूनी व्यवस्था रहेबमोजिम उक्त रकम संकलन भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए।

यसैगरी, ‘मानसरोवर कैलाश’ यात्राका लागि दुई हजार ९ सय ५२ जना रसुवागढी नाका हुँदै चीनतर्फ प्रस्थान गरेको स्थानीय अध्यागमन कार्यालयले बताएको छ। 

अध्यागमन कार्यालय घट्टेखोला रसुवागढीका प्रमुख लेखनाथ खतिवडाका अनुसार मानसरोवरका अतिरिक्त ८ सय ८५ जना तिब्बतको ल्हासामा र १ सय ५९ जना चाइना एभरेष्टतर्फ प्रस्थान गरेका छन्। रासस


प्रकाशित : सोमबार, असार २ २०८२१७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend