बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रास्वपा सांसदहरूसँग सभामुखले भने - अब संसद् रोक्ने अवस्था छैन, जुनसुकै हालतमा बजेट पारित गर्नैपर्छ

सोमबार, असार २ २०८२
रास्वपा सांसदहरूसँग सभामुखले भने - अब संसद् रोक्ने अवस्था छैन, जुनसुकै हालतमा बजेट पारित गर्नैपर्छ

सभामुखको सरकारी निवास बालुवाटारमा आज बिहान उनीहरूबीच भेटवार्ता भएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए।

काठमाडौं- सभामुख देवराज घिमिरेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल एवं प्रमुख सचेतक सन्तोष परियारले भेटवार्ता गरेका छन्।

सभामुखको सरकारी निवास बालुवाटारमा आज बिहान उनीहरूबीच भेटवार्ता भएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए। उनका अनुसार भेटमा सभामुखले संसद्‌मा अवरोधभन्दा पनि जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरेका थिए।

सो अवसरमा सभामुख घिमिरेले भने, 'दुई सातादेखि विपक्षीको अवरोधले संसद् बन्धक भयो, बजेटबारे व्यापक छलफल गर्नुपर्नेछ, बनेटलाई समृद्ध बनाउने बेला संसद् अवरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ, विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसद्लाई सहमतिका लागि रोकेको हुँ तर, अब रोक्ने अवस्था छैन।'

संसद्को नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्ने उल्लेख गर्दै उनले राष्ट्रियसभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको कुरा सुनाएका थिए।

सभामुख घिमिरेले भने, 'यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्छ, तपाईँहरूले आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ, बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु, गम्भीर भएर छलफल गरौँ।'

रास्वपाले भने विपक्षीले उठाएका माग गम्भीर भएको र जनताको वास्तविक समस्या उठाएका उल्लेख गरेको थियो। रास्वपाका कार्यवाहक सभापति अर्यालले भने, 'हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध गर्न बाध्य भएका हौँ, अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ, तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौँ।' रासस


प्रकाशित : सोमबार, असार २ २०८२१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend