बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बंगलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा १ अर्ब २५ करोडभन्दा बढी आम्दानी हुने

आइतबार, असार १ २०८२
बंगलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा १ अर्ब २५ करोडभन्दा बढी आम्दानी हुने

पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशमा विद्युत व्यापारबाट १ अर्ब २५ करोडभन्दा बढी आम्दानी हुने बताएका छन्।

ऊर्जा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत निर्यात गरी मासिक २५ करोडभन्दा बढी आम्दानी गरी पाँच महिनामा १ अर्ब २५ करोडभन्दा बढी आम्दानी हुने बताएका हुन्।

दक्षिण एसियाबाट तेस्रो मुलुक बिजुली निर्यात गर्ने पहिलो देश नेपाल भएको र बंगलादेशसँग पहिलोपटक विद्युत व्यावसायिकरुपमा बिक्री सुरु हुनु देश र जनताको लागि निकै गर्व र खुसीको कुरा भएको मन्त्री खड्काको भनाइ छ।

ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री खड्काले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी भारतलाई १० हजार र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गरेर आर्थिक रुपमा समृद्धि हासिल गरिने बताए।

नेपाल विद्युत प्राधिकरणले गएराति (असार १ अर्थात जुन १५) १२ बजेबाट भारतीय प्रसारणलाइन हुँदै ४० मेगावाट विद्युत बंगलादेश विद्युत निर्यात गरेको थियो। गत वर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारणलाइन हुँदै बंगलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष गएराति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो।

गत वर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएको थियो। 

पत्रकार सम्मेलनमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल ऊर्जा व्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र बंगलादेशमा बिजुली निर्यात गरि अर्बौँ आम्दानी गर्ने बताए। उनले भने, 'अहिले लोडसेडिङ छैन र हुँदैन पनि। उत्पादित बिजुली बढी भएरै बिक्री सुरु गरिएको भन्दै ट्रिपिङको समस्या कहिलेकाहीँ देखिएर झ्याप-झ्याप बत्ती जाने गरे पनि यसलाई हटाउदै लगिएको छ।'

विगतका वर्षहरुमा पनि प्राविधिक कारणले ट्रिपिङको समस्या रहेको र गतवर्ष भन्दा अहिले क्रमश: कम हुँदै गएकोले लोडेसेडिङ भन्ने भ्रम नपाल्न उनले आग्रहसमेत गरे।

आजदेखि बंगलादेशमा निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म बिक्री गरिनेछ। पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ। उक्त विद्युत नेपालको ४ सय केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बंगलादेशको भेरमारा सबस्टेसनसम्म पुग्नेछ।

त्यस्तै, नेपालले जुन १ देखि हरियाणा राज्यमा १ सय ८५ मेगावाट विद्युत निर्यात गर्दै आएकोमा आइतबार अर्थात जुन १५ बाट बढाएर २ सय मेगावाट बिक्री गरेको छ। त्यस्तै, बिहारमा पनि ८० मेगावाट विद्युत आइतबाटै निर्यात सुरु गरेको छ।


प्रकाशित : आइतबार, असार १ २०८२१८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend