बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बंगलादेशलाई पहिलोपटक व्यावसायिक रूपमा नेपाली विद्युत् बिक्री सुरू

उर्जामन्त्री खड्काले भने– समृद्धिको दिशामा ऐतिहासिक कदम

शनिबार, जेठ ३१ २०८२
बंगलादेशलाई पहिलोपटक व्यावसायिक रूपमा नेपाली विद्युत् बिक्री सुरू

काठमाडौं- नेपालले आज देखि बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात सुरू गरेको छ। त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् अबदेखि हरेक वर्षको वर्षायाममा पाँच महिना बंगलादेश पठाइने छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपालले तेस्रो मुलुकलाई विद्युत् निर्यात गर्न थालेको ऐतिहासिक क्षण भएको भन्दै देश अब समृद्धिको दिशामा अघि बढेको दाबी गरे। 'आजको दिन केवल सम्झौतामा सीमित छैन, यो नेपालजस्तो जलस्रोतसम्पन्न राष्ट्रको सम्भावनाले व्यवसायीक रूपमा फल दिन थालेको संकेत हो,' उनले भने, 'अब हामी केवल उत्पादन होइन, निर्यातमा पनि सशक्त बनिरहेका छौं।'

नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ गते विद्युत् व्यापारसम्बन्धी त्रिपक्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् बंगलादेशलाई बेच्नेछ।

विद्युत् निर्यातको उद्घाटन उर्जामन्त्री खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल तथा बंगलादेशका ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानले संयुक्त रूपमा स्विच अन गरेर सुरुवात गरेका थिए।

विद्युत् भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतको बेहरामपुरबाट बंगलादेशको भेडामारा ४०० केभी लाइनमार्फत पठाइनेछ।

विद्युत् प्राधिकरणका अनुसार निर्यातको पहिलो दिन अर्थात असार १ गते मात्र ४ लाख ७० हजार युनिट बिजुली बंगलादेशलाई आपूर्ति गरिएको छ। जसबाट नेपालले ३० हजार ८० अमेरिकी डलर आम्दानी गरेको छ।

विद्युत् प्राधिकरणले बंगलादेशलाई विद्युत् बिक्री गर्दा प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ भने भारतको प्रसारण संरचना प्रयोग गरेबापत लाग्ने शुल्क, चुहावट तथा अन्य सबै कर र ट्रेडिङ्ग मार्जिन बंगलादेशले बेहोर्ने व्यवस्था गरिएको छ।

निर्यातका लागि सम्झौता सन् २०२९ अक्टोबर २ तारिखसम्म कायम रहनेछ। बक्यौता भुक्तानी बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बाट गरिनेछ।

यो सहकार्यबाट बंगलादेशले वर्षायाममा आवश्यक पर्ने विद्युत् सुलभ मूल्यमा प्राप्त गर्नेछ भने नेपालले वर्षायाममा खेर जाने विद्युत् प्रयोग गरेर परराष्ट्र आम्दानी बढाउने अवसर पाएको छ।

उर्जामन्त्री खड्काले यस ऐतिहासिक उपलब्धिमा नेपाल, भारत र बंगलादेश तीनै देशको सहकार्यलाई श्रेय दिनुहुँदै थप विद्युत् व्यापारका लागि वातावरण निर्माण भइरहेको जानकारी दिए। 'अब हामी ऊर्जा कूटनीतिको नयाँ चरणमा प्रवेश गरेका छौं,' उनले भने।


प्रकाशित : शनिबार, जेठ ३१ २०८२२२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend